काठमाडौं । फुटबल विवाद समाधानका लागि राष्ट्रिय खेलकुद परिषद् (राखेप)द्धारा गठित छानविन समितिले अनुसन्धान प्रतिवेदन तयार गरेको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा)को आग्रह अनुसार युवा तथा खेलकद मन्त्रालयले घटनाको छानविन गरि प्रतिवेदन तयार गर्न राखेपलाई निर्देशन दिएको थियो ।
राखेपले घटनाको अनुसन्धान गर्न बोर्ड सदस्य पुरेन्द्र बिक्रम लाखे नेतृत्वमा ७ सदस्यीय समिति गठन गरेको थियो ।
समितिले विवादसंग सम्बन्धित कागजातको अध्ययन गरि बयानको काम सक्नुका साथै प्रतिवेदन तयार पारेको छ ।
समिति प्रवक्ता तथा बोर्ड सदस्य सुवर्ण श्रेष्ठले छानविन अन्तिम चरणमा पुगेको बताईन् ।
‘बुधबार बसेर छानविनको काम सकिएको छ । प्रतिवेदन समेत तयार भएकाे छ । बिहीबार समितिको अन्तिम बैठक बसेर बुझाउने तयारी छ ।’ उनले खेलपाटीसंग भनिन् ।
समितिले बिहीबार राखेपलाई प्रतिवेदन बुझाउने तयारी गरेको हो ।
समितिले निवेदकको माग अनुसार कागजात अध्ययन गरेर सम्बन्धित व्यक्तिलाई भेटेर बयान लिएको थियो । समितिले एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पा सहित घटनामा जोडिएका प्रत्यक्ष तथा अप्रत्यक्ष फुटबल पदाधिकारीलाई बयानका लागि बोलाएको थियो ।
विवादलाई संघ बाहिर लगिएको भन्दै एन्फाका केही पदाधिकारी असन्तुष्ट छन् । राखेप, मन्त्रालयको हस्तक्षपले एन्फा निलम्बनमा जान सक्ने खतरा औल्याएका छन् । तर समितिले फिफा र एएफसीमा समस्या नपर्ने गरि प्रतिवेदन तयार पारेको बताईएको छ ।
समितिका एक सदस्यले एन्फा विधान, आचार संघिता, नीति नियमको आवश्यक अध्ययन गरेर घटनाको छानविन गरिएको खेलपाटीलाई बताए ।
‘प्रतिवेदनले एन्फाको विषयमा निर्देशन दिदा फिफा, एएफसीको चासोलाई समेत सम्बोधन गर्नुपर्ने हुन्छ । सोही अनुसार समितिले आवश्यक निर्णय र निर्देशन दिने गरि प्रतिवेदन तयार पारेको छ ।’ ती सदस्यले भने ।
वरिष्ठ उपाध्यक्ष पंकज नेम्वाङ्गलाई कारण देखाउदै मुख्य प्रशिक्षक अब्दुल्लाहा अलमुताइरीले पदबाट राजीनामा दिने घोषणा गरेपछि फुटबलमा विवाद देखिएको थियो । छानविनमा दुई खेल पत्रकारमाथि मुख्य प्रशिक्षकको दुव्र्यवहारको निवेदन समेत रहेको छ ।