काठमाडौं । तेक्वान्दोकी आयशा शाक्यले एसिया पुम्से ओपन च्याम्पियनसिपमा कास्य पदक जितेकी छिन् ।
विश्व तेक्वान्दो एसियाले भर्चुअल माध्यमबाट आयोजना गरेको प्रतियोगितामा आयशाले ब्ल्याक बेल्ट ४० वर्षमुनिको उमेर समूहमा कास्य पदक जितेकी हुन् ।
आयशाले (७.१९) अंकसहित कास्य पदक हासिल गरेकी हुन् । आयशासँगै चाइनिज ताइपेइकी चेनले (७.३४) अंक जोड्दै कास्य जितिन् ।
मेक्सिकोकी एस्पिनोजा मार्केजले ७.८१ अंकसहित स्वर्ण जित्दा हङकङकी चेङले ७.३९ अंक जोड्दै रजत पदक हासिल गरिन् ।
यसअघि पहिलो चरणमा १३ जनाले प्रतिस्पर्धा गरेको यस इभेन्टमा आयशा ६.७५ को स्कोर जोड्दै अन्तिम चरणमा प्रवेश गरेकी थिइन् । फाइनलमा आफ्नो प्रदर्शन सुधार्दै उनी कास्य जित्न सफल भएकी हुन् ।
नेपालबाट यसै प्रतियोगिताको शिशिर श्रेष्ठ, कृष्णबहादुर तामाङ, रेजिन रिमालले, संजिला तिमल्सिना, प्रशंसा क्षेत्री, निता गुरुङ, सिना मादेन , स्यामुएल तामाङ, आश्विन राई, उज्ज्वल घले, इश्वर सेढाइ र दीपेन्द्र गुरुङले पनि प्रतिस्पर्धा गरेका थिए ।
आयशा बाहेक कुनै खेलाडीले फाइनल यात्रा तय गर्न सकेनन् ।