काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले छानबिनको माग गर्दै अखिल नेपाल फुटबल संघ (एन्फा) मा निवेदन दर्ता गराएका छन् ।
प्रशिक्षक अलमुताइरीले बिहीबार एन्फा कम्प्लेक्स पुगेर वरिष्ठ उपाध्यक्ष पंकज नेम्बाङ र दुई संचारकर्मीसँगको विवादबारे छानबिन गर्न माग गर्दै निवेदन दर्ता गराएका हुन् ।
एन्फाका प्रवक्ता किरण राईले प्रशिक्षक अलमुताइरीले अपरान्ह एन्फा आएर निवेदन दिएको जानकारी गराए ।
'दुई संचारकर्मी र उपाध्यक्षको विवादबारे छानबिनको माग गर्दै प्रशिक्षक अलमुताइरी ले निवेदन दिनु भएको छ,' प्रवक्ता राईले भने, 'दुई संचारकर्मी र उपाध्यक्षले यस अघि नै निवेदन दिनु भएको थियो ।'
प्रशिक्षक अलमुताइरीले आइतबार सामाजिक संजाल फेसबुकबाट आफुले राजीनामा दिने घोषणा गरेका थिए । अलमुताइरीले वरिष्ठ उपाध्यक्ष पंकज नेम्बाङको कारण आफुले राजीनामा दिन लागेको बताएका थिए ।
नेम्बाङले अलमुताइरीको आरोपको खण्डन गर्दै आफूमाथि षडयन्त्र भएको बताएका थिए । उनले छानबिन गर्न एन्फालाई निवेदन दर्ता बुझाइसकेका छन् ।
एन्फाले यस विषयमा छलफल गर्न कार्यसमितिको आकस्मिक बैठक आह्वान गरिसकेको छ । एन्फाले कार्यसमितिको आकस्मिक बैठक शुक्रबारका लागि डाकेको छ ।