काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)का वरिष्ठ उपाध्यक्ष पंकज नेम्वाङले मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले लगाएको आरोपको संस्थागत छानबिन गर्न माग गरेका छन् ।
मुख्य प्रशिक्षकको आरोपको विषयमा व्यक्तिगत छलफल गर्न अस्विकार गर्दै वरिष्ठ उपाध्यक्ष नेम्वाङले छानविन समिति गठन गरेर घटनाको निष्पक्ष छानविन गर्न माग गरेका हुन् ।
आइतबार राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अलमुताइरीले वरिष्ठ उपाध्यक्षका कारण आफुले काम गर्न नसक्ने आरोप लगाउँदै पदबाट राजीनामा दिने घोषणा गरेका थिए ।
वरिष्ठ उपाध्यक्ष नेम्वाङले प्रशिक्षक अलमुताइरीले निराधार आरोप आफुमाथि लगाएको बताउँदै छानविन गरि संस्थागत धारणा बाहिर आउनुपर्ने माग गरेका हुन् ।
उनले घटनाको छानबिन गरेर संस्थागत धारणा सार्वजनीक गर्न माग गर्दै एन्फामा निवेदन समेत दिएका छन् ।
‘अनौपचारिक रुपमा छलफल गरेर निकास निकाल्ने प्रस्ताव आएको छ । व्यक्तिगत रुपमा छलफल गरेर समाधान निस्कदैन । यसको संस्थागत छानविन र निर्णय गर्न माग गर्दै निवेदन दिएको छु ।’ नेम्वाङ्गले खेलपाटीसंग भने ।
वरिष्ठ उपाध्यक्ष नेम्वाङ्गले बिना आधार लगाएको आरोपबारे प्रशिक्षकले आत्मालोचना गरेर सच्चाउने विश्वास आफुले गरेपनि त्यसो हुन नसकेका कारण एन्फामा छानविनका लागि निवेदन दिएको बताए ।
‘प्रशिक्षकले व्यक्तिगत रुपमा आरोप लगाएपनि यो संस्थाको कुरा हो । व्यक्तिगत कुरा गौणनै ठानेको छु । हामी दुवै एन्फा अन्तर्गत रहेका छौं । फुटबलको विषय भएकाले संस्थागत निर्णय आउनुपर्छ । घटनाको छानविन गरेर संस्थागत धारणा आउनुपर्यो भन्ने माग छ ।’ उनले भने ।
अलमुताइरीले वरिष्ठ उपाध्यक्षका कारण आफुले राजीनामा दिन लागेको उल्लेख गर्दै पछिल्लो तीन हप्तादेखि नेम्वाङ्गले आफुसंग नाटक गरेको आरोप लगाएका थिए ।
मुख्य प्रशिक्षकको राजीनामा दिने घोषणासंगै सामाजिक सञ्जालमा एन्फा र वरिष्ठ उपाध्यक्षको चर्को विरोध भएको छ । नेम्वाङ्गले आसन्न एन्फाको निर्वाचनलाई लक्षित गरेर आफुमाथि राजनीतिक षडयन्त्र गरिएको आरोप लगाएका छन् ।
राजीनामा प्रकरणपछि अलमुताइरी र वरिष्ठ उपाध्यक्षलाई संयुक्त रुपमा बसालेर निकास निकाल्ने एन्फाको प्रयास जारी छ । तर नेम्वाङ्गले व्यक्तिगत रुपमा भन्दा संस्थागत छानविन सहित एन्फाको आधिकारिक धारणा आउनुपर्ने माग गरेका छन् ।
एन्फा महासचिव इन्द्रमान तुलाधरले छानविनका लागि वरिष्ठ उपाध्यक्षको निवेदन आएको पुष्टि गरे । उनले परामर्श गरेर छानविनको विषयमा औपचारिक निर्णय गरिने खेलपाटीलाई बताए ।
‘छानविनकालागि निवेदन आएको छ । आवश्यक परामर्श गरेर निर्णय गर्नेछौं ।’ उनले भने ।