काठमाडौं । नेपाल ओलम्पिक कमिटि (एनओसी) का उप-महासचिव पिताम्बर तिम्सिना टोकियो ओलम्पिकमा सहभागी नहुने भएका छन् ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) का पूर्व उपाध्यक्ष समेत रहेका तिम्सिनाले सामाजिक संजालबाट टोकियो ओलम्पिक नजाने बताएका छन् ।
सामाजिक संजाल फेसबुकमा विविध कारणले आफु टोकियो ओलम्पिकमा सहभागी हुन नसक्ने बताएका छन्।
'विविध कारणले टोकियो ओलम्पिकमा सहभागी हुन नसकेको कुरा जानकारी गराउन चाहन्छु,' उनले लेखेका छन् ।
नेपाल ओलम्पिक कमिटी (एनओसी)ले तिम्सिनालाई टोकियो ओलम्पिक जाने सूचीमा राखेको थियो ।
हाल अमेरिकामा रहेका तिम्सिना एथलेटिक्स खेलको व्यवस्थापकको रुपमा ओलम्पिक जाने तय थियो ।
तिम्सिना नजाने भएपछि एथलेटिक्स टिम व्यवस्थापक विहीन बनेको छ ।
टोकियो ओलम्पिकमा नेपालकी एथलेटिक्स खेलाडी सरस्वती चौधरीले १०० मिटर दौडमा प्रतिस्पर्धा गर्ने छिन् ।
टोकियो ओलम्पिकमा पछिल्लो समय खेलाडी भन्दा पदाधिकारी धेरै सहभगी भएको भन्दै आलोचना भईरहेको छ ।
यस अघि राखेपका उपाध्यक्ष शिव कोईरालाले टोकियो ओलम्पिक जाने सूचीबाट आफ्नो नाम फिर्ता लिएका थिए ।