काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् कर्मचारी संघले एथलेटिक्स प्रशिक्षक इन्द्रा मल्लमाथि नेपाल ओलम्पिक कमिटीले षडयन्त्र गरेको आरोप लगाएको छ ।
काठमाडौंमा सोमबार पत्रकार सम्मेलन गर्दै संघले मल्ललाई प्रतियोगितामा सहभागी नगराउने षडयन्त्र ओलम्पिक कमिटीमा देखिएको उल्लेख गर्दै मल्लको स्थानमा कोेभिड बाहाना देखाएर आफ्नो आसेपासे र चाकडी गर्नेलाई लैजाने नियत देखाएको आरोप लगाएको छ ।
पत्रकार सम्मेलनमा प्रशिक्षक इन्द्राले ओलम्पिक कमिटीले आफुमाथि षडयन्त्र गरेको भन्दैै न्यायका लागि माग गरेकी छिन् ।
उनले ओलम्पिक कमिटीले दिएको कोभिड रिपोर्ट आफ्नो नभएको दाबी गरिन् । उनले रिपोर्टमा उमेर र लिङ्ग फरक भएको उल्लेख गर्दै कोभिडको नतिजा शंकाले घेरिएको दाबी गरिन् ।
‘कोभिडको नतिजा पोजेटिभ आएको अवस्थामा ओलम्पिक कमिटीले मसंग छलफल गर्नुपर्ने थियो । तर मैले मिडियाबाट खबर थाहा पाए । यसमा ओलम्पिकको नियत ठिन देखिएन ।’ उनले भनिन् ।
संघले ओलम्पिकको निन्दनीय कार्यमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) मुखदर्शक बन्नु र कर्मचारीमाथि भएको अन्याय गर्नेविरुद्ध बोल्न नसक्नु कमजोरी मानसिकता रहेको बताएको छ ।
गोपीचन्द्र पार्कीको नाम ओलम्पिकको सुचिबाट काटिएपछि ओलम्पिक कमिटीले सरस्वती चौधरीलाई सय मिटर दौडमा सिफारिस गरेको थियो । नयाँ खेलाडीसंगै एथलेटिक्स संघले प्रशिक्षकमा मल्लको नाम सिफारिस गर्यो ।
सरस्वतीसंग जापान जाने टोलीमा रहेकी मल्ललाई अन्तिम समयमा आएर कोभिड पोजेटिभ देखिएको भन्दै सुचिबाट हटाइएको थियो ।
मल्लको पोजेटिभ रिपोर्टमा लिङ्ग, उमेर फरक आएको थियो । सोही रिपोर्टलाई आधार बनाएर ओलम्पिक कमिटीले मल्ललाई जापान लगेन । त्यसपछि पटक पटक कोभिड परिक्षण गराउदा रिपोर्ट नेगेटिभ आएकी मल्लको विषयमा ओलम्पिक कमिटीले कुनै सुनुवाई गरेको थिएन ।