काठमाडौं । नेपालमा आयोजना भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा पदक विजेता खेलाडी सोमबार सम्मानित भएका छन् ।
नेपाल एथलेटिक्स संघले एक कार्यक्रमको आयोजना गर्दै १३ औं सागमा पदक विजेता खेलाडीलाई नगदसहित सम्मान गरेको हो ।
१३ औं सागमा नेपालले एथलेटिक्सतर्फ ३ स्वर्णसहित कुल ८ पदक जितेको थियो ।
संघले स्वर्ण विजेतालाई १ लाख नगदबाट पुरस्कृत गरेको हो । यस्तै रजत विजेतालाई ३५ हजार र कास्य विजेतालाई २० हजार नगदबाट पुरस्कृत गरेको छ ।
सागमा सन्तोषी श्रेष्ठले १० हजार मिटर, गोपीचन्द्र पार्कीले ५ हजार मिटर र किरण सिंह बोगटीले म्याराथनमा स्वर्ण जितेका थिए ।
महिलाको म्याराथनमा पुष्पा भण्डारीले रजत जितेकी थिइन् ।
यस्तै सोम बहादुर कुमालले ८ सय मिटर, टंक कार्कीले १५ सय मिटर, हरि कुमार रिमालले ५ हजार मिटर र दिपक अधिकारीले १० हजार मिटरमा कास्य पदक जितेका थिए ।
खेलाडीहरुलाई एथलेटिक्स संघका अध्यक्ष राजिब बिक्रम शाह लगायतले पुरस्कृत गरे ।