काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कार्यवहाक सदस्य सचिवको जिम्मेवारी यकेन्द्र कुँवरले पाएका छन् ।
राखेप सदस्य सचिव रमेशकुमार सिलवाल ‘सेभ द मिसन’को रुपमा टोकियो ओलम्पिक जाने भएपछि यकेन्द्रले कार्यवहाकको जिम्मेवारी पाएका हुन् ।
नेपाली टिमको नेतृत्व गर्दै सिलवाल शुक्रबार जापान प्रस्थान गर्दैछन् । राखेपको सदस्य ओलम्पिकमा ‘सेभ द मिसन’को रुपमा जाने चलन रहेको छ ।
सिलवालले राखेपको कार्यकारी समितिका सदस्य यकेन्द्रलाई कार्यवहाकको जिम्मेवारी दिएका हुन् ।
सुदुरपश्चिम प्रदेशबाट राखेपको बोर्डमा प्रतिनिधित्व गरेका यकेन्द्रलाई तत्कालिन खेलकुद मन्त्री दावा तामाङले राखेपको कार्यकारी समिति सदस्य बनाएका थिए ।
सिलवाल गत महिना नेपालको राष्ट्रिय फुटबल टिमसंग इराक र कुवेत भ्रमणमा निस्केका थिए । सो समय सिलवालले राखेपको कार्यवहाकको जिम्मेवारी पुरेन्द्रबिक्रम लाखेलाई दिएका थिए ।
कार्यकारी समितिका सदस्यलाई बाइपास गरेर अन्य बोर्ड सदस्यलाई जिम्मेवारी दिएपछि राखेपमा सिलवालको आलोचना समेत भएको थियो ।
तर, पछिल्लो समय राखेपका बोर्ड सदस्यसंग सम्बन्ध सुधारको कोशिश गरिरहेका सिलवालले यकेन्द्रलाई कार्यवहाकको जिम्मेवारी दिएका हुन् । सिलवालको अनुपस्थितीमा यकेन्द्रले राखेपको दैनिक प्रशासन सञ्चालनको काम गर्नेछन् ।