काठमाडौं । जापानको टोकियो ओलम्पिकमा नेपालको 'सेफ द मिसन' रहेका राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्य सचिव रमेश कुमार सिलवालको नेतृत्वमा १० सदस्सीय टोली भोलि (शुक्रबार) जापान प्रस्थान गर्ने भएका छन् ।
नेपाल ओलम्पिक कमिटि (एनओसी) ले सदस्य सचिव सिलवालको नेतृत्वमा १० सदस्सीय टोली शुक्रबार जापान प्रस्थान गर्ने जनाएको छ ।
सदस्य सचिव सिलवालको नेतृत्वमा जापान जाने टोलीमा दुई खेलाडी, प्रशिक्षक र पदाधिकारी रहेका छन् ।
दुई खेलाडीमा जुडोकी सोनिया भट्ट र सुटिङकी कल्पना परियार रहेकी छिन् । जुडो प्रशिक्षक सूर्यनारायण श्रेष्ठ र सुटिङका प्रशिक्षक असिम यादव पनि सिलवालको नेतृत्वमा जापान जाने छन् ।
त्यस्तै सिलवालको नेतृत्वमा हेडक्वाटर अफिसियल रहेका एनओसीका कार्यकारी निर्देशक चतुरानन्द राज बैद्य, टिम लिडर रहेका सुनिल कुमार श्रेष्ठ, तुलसी थापा, प्रकाश शमशेर राना र मेडिकल अफिसियलको रुपमा डा.नबिस मान सिंह प्रधान जापान जाने छन् ।
एनओसी अध्यक्ष जीवनराम श्रेष्ठको नेतृत्वमा भने सोमबार पाँच सदसीय टोली जापान जाने छन् । अध्यक्षको नेतृत्वमा जापान जाने टोलीमा महासचिव निलेन्द्रराज श्रेष्ठ, युवा तथा खेलकुद मन्त्रालयका सचिव केदार न्यौपाने, राखेप बोर्ड सदस्यद्धय सम्पन्न श्रेष्ठ र सुभास श्रेष्ठ रहेका छन् ।
यस्तै साउन १० गते जापान जाने टोलीमा राखेप उपाध्यक्ष शिव कोईराला, एथलेटिक्स खेलाडी सरस्वती चौधरी, प्रशिक्षक ईन्दिरा मल्ल र एनओसी उप-महासचिव पिताम्बर तिम्सिना रहेका छन् ।
यस अघि पौडीका तीन सदसीय नेपाली टोली जापान पुगिसकेका छन् ।
टोकियो ओलम्पिक जुलाई २३ देखि अगस्ट ८ सम्म हुनेछ । टोकियो ओलम्पिकमा नेपालबाट पाँच खेलाडी, प्रशिक्षक र पदाधिकारी गरि २६ सदस्सीय टिमको सहभागिता हुनेछ ।
ओलम्पिकमा सहभागी जनाउने नेपाली टोलीलाई आज राष्ट्रपति विद्यादेवी भण्डारीले बिदाइ गर्ने कार्यक्रम रहेको छ ।