काठमाडौं । नेपाल राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघ (एनएनआईपीए) ले धावक गोपीचन्द्र पार्कीमाथि अन्याय र अपमान भएको बताएको छ ।
संघले शुक्रबार एक विज्ञप्ति जारी गर्दै पार्कीको ओलम्पियन बन्ने सपना चकनाचुर गरिएको भन्दै उनीमाथि अन्याय र अपमान भएको जनाएको छ । संघले यस कार्यको घोर भर्त्सना समेत गरेको छ ।
'आठ महिना भन्दा लामो तयारी गर्दा अन्त्यमा ओलम्पियन बन्ने सपना चकनाचुर हुँदा गोपीचन्द्र पार्कीप्रति भएको अन्याय र अपमानले नेपाल राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघ मर्माहित भएको छ,' संघले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ' खेलाडीले गरेको मेहेनत र बगाएको पसिनाको अवमूल्यन भएको महसुस गरेका छौँ । यसको खेलाडी संघ घोर भर्त्सना गर्दछ ।'
नेपाल ओलम्पिक कमिटि, राष्ट्रिय खेलकुद परिषद र एथलेटिक्स संघले बिहीबार संयुक्त विज्ञप्ति निकाल्दै गोपीको स्थानमा सरस्वती चौधरीलाई टोकियो ओलम्पिकमा सहभागिता गराईएको जनाएको थियो ।
विश्व एथलेटिक्सको प्राविधिक कमिटीले नेपाललाई म्याराथनमा नभई महिला १०० मिटरमा कोटा छुट्टाएको कारण सरस्वतीलाई पठाईएको जनाएईको थियो ।
यस्तै खेलाडी संघले यस विषयमा सत्यतथ्य बाहिर ल्याउन माग गरेको छ । संघले यस विषयमा दोषी देखिनेलाई कारबाहीको माग समेत गरेको छ ।