काठमाडौं । गोपीचन्द्र पार्कीले आसन्न टोकियो ओलम्पिक प्रतियोगिता गुमाउने भएका छन् ।
अन्तराष्ट्रिय ओलम्पिक कमिटि (आईओसी) ले म्याराथनमा खेलाडी सहभागी गराउन नसक्ने जानकारी सहित स्प्रिन्ट विधाका खेलाडी सिफारिस गर्न अनुरोध गरेपछि गोपीचन्द्रले ओलम्पिक गुमाउने निश्चित भएको हो ।
‘आईओसीले म्याराथनको विधामा सक्दिन भनेर पत्र आएको छ । सय मिटरमा मात्र स्थान दिन सक्छु भनेर पठाएको छ । त्यस विषयमा आन्तरिक छलफल भईरहेको छ ।’ ओलम्पिक स्रोतले खेलपाटीसंग भन्यो ।
आसन्न ओलम्पिकमा सहभागी हुने खेलाडीलाई एनओसीले बुधबारबाट होटल सोल्टीमा राख्न सुरु गरेको छ । तर सोल्टीमा पुग्ने खेलाडीमा एथ्लेटिक्सका गोपिचन्द्र पार्की छैनन् । उनलाई यसबारे कुनै जानकारी दिईएको छैन ।
ओलम्पिक कमिटि सम्भावित विकल्पको खोजीमा जुटेको छ । यस विषयमा ओलम्पिक कमिटिले एथ्लेटिक्स संघसंग छलफल गर्दैछ । बैठक सकिएपछि औपचारिक धारणा राख्ने एनओसीको तयारी छ ।
एनओसीका प्रमुख कार्यकारी अधिकृत चतुरानन्द वैद्यले गोपीको विषयमा आफुहरु आन्तरिक छलफलमा रहेको बताए । उनले नेपाल एथ्लेटिक्स संघसंग छलफल गरेर आधिकारिक धारणा सार्वजनीक गर्ने बताए ।
‘छलफल हुँदैछ । संघका पदाधिकारीसंग कुरा हुन्छ । के भएको रहेछ भनेर हेर्छौ । सम्भावना के छ भनेर हेर्छौ । के गर्ने भन्ने विकल्प पनि हेर्छौ । एक जना एथ्लेटिक्सको पठाउँछौं । गोपीको विषयमा खास कारण पक्कै आउँछ ।’ वैद्यले भने ।
गोपीले आसन्न ओलम्पिकमा म्याराथनमा दौडन लागेका थिए । उनले दक्षिण एसियामा नेपालका बैकुण्ठ मानन्धरले कायम राखेको कीर्तिमान तोड्ने लक्ष्य राखेका थिए । सोही अनुसार उनले तयारी समेत पुरा गरेका थिए ।
तर एथ्लेटिक्स संघ र ओलम्पिक कमिटिको चरम लापरबाहीका कारण गोपीको यस वर्ष ओलम्पिक खेल्ने सम्भावना सकिन लागेको हो ।
नेपालबाट गोपीसहित पौडीकी गौरिका सिंह, एलेक्स शाह तथा सुटिङ्गकी कल्पना परियार र जुडोकी सोनिया भट्टले आसन्न ओलम्पिकमा प्रतिनिधित्व गर्ने बताईएको थियो । तर अन्तिम समयमा आएर आईओसीले म्याराथनमा सहभागी गराउन सक्ने व्यहोराको पत्र पठाएको एनओसीले जनाएको छ ।
यसको खास कारण एनओसीले सार्वजनिक गरेको छैन । एनओसी बिहिबारनै एथ्लेटिक्स संघसंग छलफलमा बस्दैछ ।
एथ्लेटिक्स संघले ओलम्पिकमा नाम सिफारिस गर्न ढिलाई गरेपछि गत मंसिरमा नेपालगञ्जमा सम्पन्न पिस म्याराथनबाट एथ्लेटिक्स खेलाडीको छनोट गरेको थियो
। नेपालगञ्ज म्याराथनको उपाधि सहित गोपीले ओलम्पिकमा आफ्नो स्थान सुरक्षित गरेका थिए । समयमै नाम सिफारिस नगर्दा गोपीले आईओसीको छात्रवृत्ति समेत पाएनन् ।
ओलम्पिकका लागि भन्दै अन्य ७ खेलका १२ खेलाडीले मासिक ५ सय छात्रवृत्ति पाउँदा गोपीले आफ्नै खर्चमा ओलम्पिकको तयारी गरेका थिए । तर विश्व एथ्लेटिक्स महासंघ र अन्तराष्ट्रिय ओलम्पिक कमिटिसंग आवश्यक समन्वय नगर्दा गोपीले अन्तिम समयमा आएर ओलम्पिक गुमाउने देखिएको छ ।