खेलकुदमाथिको निषेधाज्ञा यथावत
काठमाडौं । खेलकुद गतिविधि सञ्चालनका लागि अझै केही समय पर्खनुपर्ने भएको छ ।
सरकारले उपत्यकामा जारी गरेको निषेधाज्ञालाई केही खुकुलो बनाएको छ । तर खेलकुद क्षेत्रसहित भिडभाड हुने कार्यक्रम सञ्चालन गर्न नपाईने अघिल्लो निर्णयलाई यथावत राखेको छ ।
उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीको आईतबार बसेको बैठकले निषेधाज्ञालाई खुकुरो पार्ने निर्णय गर्दै रंगशालामा हुने दर्शक सहितको खेलकुद कार्यक्रम गर्न नपाईने यसअघिको निर्णयलाई निरन्तरता दिएको हो ।
सरकारले कोभिडको दोस्रो लहरसंगै बैशाख १६ गतेबाट उपत्यका सहित देशभर निषेधाज्ञा जारी गरेको थियो ।
सरकारको निषेधाज्ञासंगै सम्पुर्ण खेलकुद गतिविधि ठप्प रहेका थिए । त्यही समय सञ्चालनमा रहेका फ्रेन्चाईज फुटबल प्रतियोगिता नेपाल सुपर लिग (एनएसएल) र त्रिकोणात्मक क्रिकेट सिरिज भने पुरा हुने मौका पाए । एनएसएल र क्रिकेट सिरिज निषेधाज्ञासंगै बिना दर्शक सम्पन्न गरिएको थियो ।
निषेधाज्ञाको दौरान समेत राष्ट्रिय फुटबल टिमले बन्द प्रशिक्षणसंगै इराक र कुवेतमा मैत्रीपूर्ण फुटबलसंगै विश्वकप छनोटका खेलहरु खेल्यो । तर अन्य खेलहरु भने ठप्प जस्तै रहेका छन् ।
निषेधाज्ञाकै बीच नेपाल भलिबल संघले एसियन सिनियर महिला भलिबल च्याम्पियनसिपका लागि बन्द प्रशिक्षण सञ्चालन गरेको छ । असार १ गतेदेखि संघले खेलाडीको बन्द प्रशिक्षण राखेर प्रशिक्षण अघि बढाएको छ ।
आईतबार प्रकाशित सुचना अनुसार सबै प्रकारका सभा, सम्मेलन, गोष्ठी, तालिम, सेमिनार, सिनेमा हल, पार्टी प्यालेस, दोहोरी, नाचघर, क्लब, स्वीमिङ पुल, मनोरञ्जन स्थल, सैलून, ब्यूटी पार्लर, हेल्थक्लब, फुटसल, जिमखाना, पुस्तकालय, संग्रहालय, चिडियाखाना, रंगशालामा हुने दर्शक सहितको खेलकुद र मानिसहरुको भिडभाड हुने अन्य सबै प्रकारको कार्यक्रम सञ्चालन गर्न नपाईने सरकारी प्रशासनको निर्णय छ ।
तर निषेधाज्ञा केही खुकुलो पार्दै प्रशासनले जोड बिजोड आधारमा नीजि सवारी साधान सञ्चालन गर्नेदेखि सुनचाँदी, भाँडा पसल, मोबाइल पसल, डिपार्टमेन्टल स्टोर, फेन्सी पसल, खाद्यान्न पसल र निर्माण सामाग्रीका पसल बारका आधारमा खोल्न पाउने निर्णय गरेको छ ।
पढ्नुहाेस प्रशासनकाे बिज्ञप्ती :