काठमाडौं । अन्तर्राष्ट्रिय टेबल टेनिस महासंघको तत्वधान तथा अखिल नेपाल टेबल टेनिस संघको आयोजनामा तीन दिवसीय ‘नेपाल टिम प्लानिङ’ कार्यक्रम संचालनमा आएको छ ।
जोर्डनका अन्तर्राष्ट्रिय टेबल टेनिस विज्ञ मोहम्मद अटनले संचालन गरेको यस कार्यक्रममा नेपालका राष्ट्रिय प्रशिक्षक, एलिट खेलाडी र संघका पदाधिकारी गरेर दुई दर्जनको सहभागिता रहेको छ ।
भर्चुअल रूपमा आयोजना भइरहेको कार्यक्रम गत साता सुरु भएको थियो र बुधबार यसको दोस्रो दिन सञ्चालन भएको थियो । अब तेस्रो तथा अन्तिम दिनको कार्यक्रम शुक्रबार हुनेछ ।
यसमा अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि राष्ट्रिय टिमको तयारीका विविध आयामबारे दोहोरो छलफल गरिएको छ । अटनले यसअघि नेपाल आएर अन्य प्रशिक्षणका कार्यक्रम संचालन गरिसकेका छन् ।
संघका अध्यक्ष चतुरानन्दराज बैद्यका अनुसार जुन महिनामा महासंघकै सहयोगमा ‘होप’ कार्यक्रम पनि संचालनमा आउने भएको छ । त्यसमा नेपालका तर्फबाट चार एलिट क्याडेट खेलाडीले भाग लिन पाउनेछन् ।
यसमा दुई दुई ब्वाइज र गल्र्स खेलाडी हुनेछन् । यो प्रतिभाशाली खेलाडीका लागि आयोजना हुने अन्तर्राष्ट्रिय स्तरको कार्यक्रम हो ।