काठमाडौं । काठमाडौं रेजर्स एफसीले पहिलो संस्करणको नेपाल सुपर लिग (एनएसएल) फुटबलको उपाधि जितेको छ ।
शनिबार भएको फाइनलमा धनगढी एफसीलाई १-० गोल अन्तरले पराजित गर्दै काठमाडौं च्याम्पियन बनेको हो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा काठमाडौंलाई जित दिलाउन मेसौके ओलोमोउले निर्णायक गोल गरे ।
पहिलो संस्करणको उपाधि जितेपछि प्रशिक्षक बाल गोपाल महर्जन खुसी देखिए । महर्जनले उपाधि काठमाडौंमै राख्ने लक्ष्य पूरा भएको बताए ।
'उपाधि काठमाडौंमा सुरक्षित राख्न सक्यौं । सबैलाई बधाई । हरेक कुरा सुधार हुँदै गयो । खुसी छु । राम्रो खेल्यौं र काठमाडौं राख्ने लक्ष्य पूरा भएको छ,' महर्सजनले भने ।
धनगढीका गोलकिपर तथा कप्तान किरण चेम्जोङले अवसरलाई सदुपयोग गर्न नसक्दा पराजित भएको बताए ।
'पहिलो हाफमा टिमको मनोबल गिरेको थियो । दोस्रो हाफ हामीले राम्रो खेल्यौं । मौका बनायौ । गोल गर्न सकेनौं । अवसर सदुपयोग भएन र हार्न पुग्यौं,' उनले भने ।
प्रतियोगिताका सर्वाधिक गोलकर्ता मेसौकेले नतिजाबाट खुसी भएको बताए ।
'धेरै खुसी छु । यो सहज थिएन । राम्रो अभ्यास भएको थियो । लिग र यसमा धेरै फरक छ । राम्रो खेल्न मलाई मोटिभेट भयो । जितको लागि विश्वस्त थियौं। नतिजाबाट खुसी छु,' उनले भने ।
प्रतियोगिताको इमर्जिङ प्लेयर अफ दि टुर्नामेन्ट बनेका काठमाडौंका विश्वास श्रेष्ठले टिमलाई उपाधि दिलाउन सफल भएकोमा खुसी व्यक्त गरे ।