काठमाडौं । पहिलो संस्करणको नेपाल सुपर लिग (एनएसएल) फुटबलमा ललितपुर सिटी एफसीका कप्तान अन्जन विष्ट उत्कृष्ट फरवार्ड चुनिएका छन् ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार सम्पन्न प्रतियोगितामा अन्जन उत्कृष्ट फरवार्ड चुनिएका हुन् ।
यस्तै च्याम्पियन टिम काठमाडौं रेजर्स एफसीका मेसौके ओलोमोउ उत्कृष्ट मिडफिल्डर चुनिए । उनी फाइनलका निर्णायक गोलकर्ता समेत हुन् ।
फाइनलमा धनगढी एफसीलाई १-० गोल अन्तरले पराजित गर्दै काठमाडौं च्याम्पियन बनेको थियो ।
प्रतियोगिताको उत्कृष्ट डिफेन्डर धनगढीका दिनेश राजवंशी र उत्कृष्ट गोलकिपर धनगढीका किरण चेम्जोङ चुनिए । उत्कृष्ट प्रशिक्षक काठमाडौंका बाल गोपाल महर्जन चुनिए ।
व्यक्तिगत विधामा उत्कृष्ट बनेका खेलाडी र प्रशिक्षकले जनही १/१ लाख प्राप्त गरे ।
प्रतियोगिताको इमर्जिङ प्लेयर अफ दि टुर्नामेन्ट काठमाडौंका विश्वास श्रेष्ठ चुनिए । उनले ५० हजार प्राप्त गरे ।
फेयर प्ले टिमको अवार्ड बुटवल लुम्बिनी एफसीले हात पार्यो ।