काठमाडौं । कामना विष्ट, एक समय भलिबलमा आश गरेकी खेलाडी थिईन् । दुर्भाग्य, खेल्ने क्रममा उनले चोट बोकिन् ।
लामो समय मैदान बाहिर रहन पर्यो । सायद धेरैले बिर्सिसकेका थिए । तर, उनै कामनाले घरेलु भलिबलमा उत्कृष्ट पुनरामगन गरेकी छिन् । र नेपाली भलिबलमा आफुलाई पुरानै लयमा फर्काउने संकेत गरेकी छिन् ।
प्रतियोगिता ठ्याक्कै थाहा छैन तर तीन वर्ष अघि उनको दुखाई बढ्दै गएको थियो । तर उनले खेल्न छाडिनन् । पुलिसको अस्पताल पुगिन् । जाँच गराईन्, थेरापी गरिन् । रोग भने पत्ता लागेन । डाक्टरले घुँडामा पानी जमेको बताए । तर अवस्था सामान्य रहेको उल्लेख गरे । उनले पनि सामान्य रुपमै लईन् । प्रतियोगिता खेल्दै गईन् । चोट निको भएन । दुखाई बढ्दै गएपछि आराममा बसिन् ।
७६ सालको मध्यतिर उनले चिरायु हस्पिटलमा अर्थोस्कोपी गराईन् । जब रिपोर्ट आयो, उनी झसङ्ग भईन् । घुँडाभित्र हड्डीमा घाउ भएको रहेछ । डाक्टरले घाउ सफा गरेर पुरा आराम र थेरापी गर्न भने । उपचारका लागि सहयोगी हात कोही भएनन् । आफैले उपचारका लागि पैसाको व्यवस्थापन गरिन् ।
‘त्यतिबेला राम्रो फिजियो पनि भेटेको थिएन । करिब २–३ लाख खर्च भयो । कतैबाट सहयोग भएन । दिदीहरुले केही परे सम्झिनु भन्नु भएको थियो । तर कसलाई भन्नु र, आफैले सबै व्यवस्थापन गरे ।’ उनले भनिन् ।
कामनाले डाक्टर अर्जुन लामिछानेको टिमको निगरानीमा परीक्षण गराएकी थिईन् । अस्पताल महँगो थियो । खर्च बढ्दै गयो । पैसाको व्यस्थापन गर्न गाह्रो हुदै गयो । डाक्टरको टिमले टिचिङ हस्पिटलमा बाँकी उपचार गर्न सुझाए ।
‘हस्पिटल निकै महँगो थियो । सबै खर्च आफैले गरेको देखेर डाक्टरले टिचिङ हस्पिटलमा उपचार गराउन सल्लाह दिए । कम खर्चमा उपचार हुन्छ भनेर सुझाव दिए । पछि त्यही गरे ।’ कामनाले खेलपाटीसँग भनिन् ।
एकातिर उपचारको तनाव । अर्कोतिर देश कोरोनाका कारण लकडाउनमा गयो । खेलकुदका सबै प्रतियोगिता स्थगित थिए । कामनाले त्यो समय उपचारमा दिन पाईन् ।
उनले राष्ट्रिय क्रिकेट टिमका फिजियोथेरापिस्ट बिक्रम न्यौपानेबाट थेरापी गराईन् । दुखाई कम गर्न निनाधिनी श्रेष्ठसँग परामर्श लिन्थिन् ।
‘लकडाउनले एक हिसाबले मलाई फाइदा भयो । राम्रो फिजियो पाए । आफ्नो फिटनेस बढाए । घुँडाको ट्रेनिङ गरे । मलाई दुखाई बढ्यो भने निनाधिनीकोमा जान्थें । उहाँले धेरै सहयोग गर्नुभयो । जतिबेला गएपनि निशुल्क उपचार गरिदिनुहुन्थ्यो ।’ कामनाले भनिन् ।
उनी मैदान बाहिर भएपनि भलिबलसँग जोडिएकी थिईन् । उनी हरेक प्रतियोगितामा खेलाडीको रुपमा नभएपनि टिम म्यानेजर तथा प्रशिक्षकको रुपमा देखा पर्थिन् ।
२१ वर्षकी कामनाले उपचारको क्रममा आफ्नो फिटनेसलाई मात्र नभएर पढाईलाई समेत निरन्तरता दिएकी छिन् । उनी बीबीएस चौंथो वर्षमा अध्ययनरत छिन् । चोटका कारण कामना करिब साढे दुई वर्ष मैदान बाहिर रहिन् ।
लामो समयको बिश्रामपछि कामनाले गत फागुनमा पोखरामा सम्पन्न टाईगर कपबाट कमब्याक गरिन् । जसमा उनको टिम च्याम्पियन भएको थियो । लगत्तै उनले दोस्रो प्रतियोगिताको रुपमा पीएम कप खेलिन् । उनको टिम उपविजेता बन्यो । तेस्रो प्रतियोगिताको रुपमा एनभीए क्लब च्याम्पियनसिप खेलिन्, पुलिसलाई उपविजेता बनाउन महत्वपूर्ण भुमिका खेलिन् ।
चोटले मौका गुमाए -
कामना करिब साढे दुई वर्ष मैदान बाहिर रहिन् । जसका कारण अवसरहरु गुमाउनु परेको उनी बताउँछिन् । कामनालाई राष्ट्रिय टिममा पर्ने ठुलो अवसर थियोे । तर चोटका कारण मैदान बाहिर बस्न पर्यो । नेपालले सेन्ट्रल जोन भलिबलमा स्वर्ण जित्दा होस् वा सागमा ऐतिहासिक रजत पदक जित्दा, कामना टिम बाहिर रहिन् ।
‘चोटले गर्दा पाउने मौका गुमाए । राम्रो गर्दै आएको थिए तर सागको छनौट खेल्न पाईन ।’ कामनाले भनिन् ।
काठमाडौंमा केही हप्ता अघि सम्पन्न एनभीए क्लब च्याम्पियनसिप राष्ट्रिय टिमका लागि छनोट खेल हो । छनौट भएका उत्कृष्ट खेलाडीले चीनमा हुने भलिबलको एसियन च्याम्पियनसिप खेल्नेछन् । कामना पनि राष्ट्रिय टिममा पर्ने आशमा छिन् ।
‘आफ्नो तर्फबाट शतप्रतिशत दिएको छु । खेल हो, जे पनि हुनसक्छ । यो छनौट खेल भनिएको छ । बन्द प्रशिक्षणमा पर्छु भन्ने छ । मेहनत गर्दै राष्ट्रिय टिममा पनि पर्छु भन्ने विश्वास छ ।’ उनले भनिन् ।
उनले टिमसँग राम्रोसँग ट्रेनिङ गर्न नपाएका कारण पहिलाकै स्तरमा आउन समय लाग्ने बताईन् ।
‘राम्रोसँग ट्रेनिङ भएको छैन । फिटनेस गरेर सिधै प्रतियोगिता खेल्न आएको छु । ट्रेनिङ नभएको हुनाले पहिलाकै स्तरमा आउन प्रयास गरिरहेको छु ।’ उनले भनिन्, ‘खेलाडीलाई बेसिक ट्रेनिङ गर्नकालागि तालिममा हालेको छ । त्यसैले ट्रेनिङ गर्न समय मिलेन । यसले मलाई फिजिकल फिटनेसको लागि भने राम्रो भएको छ ।’
दुखाई सामान्य बन्दै छ । तर खेल्ने क्रममा सन्तुलन नमिल्दा उनलाई चोटले दुख दिने गर्छ ।
‘पहिला भन्दा धेरै ठिक भइसक्यो तर कुनैबेला सन्तुलन बिग्रदा दुख्छ ।’ उनी भन्छिन् ।
एथ्लेटिक्स खेलाडी भलिबलमा -
५६ साल पुस १७ गते जाजरकोटको खलङ्गामा जन्मिएकी कामना सुरुमा एथ्लेटिक्सकी खेलाडी हुन् । बुवा हरिहर विष्ट र आमा लक्ष्मी विष्टकी सन्तान कामना विस्तारै भलिबलतर्फ आकर्षित हुन थालिन् ।
१४ वर्षको उमेरमा क्षेत्रीय प्रतियोगिता खेलेकी उनले ७३ सालमा विभागीय टिमकी उत्कृष्ट क्विकर कोपिला रानामार्फत पुलिसमा खुल्ला खेलाडीको रुपमा जोडिएकी हुन् ।
उनलाई भलिबलको बारेमा धेरै थाहा थिएन । पुलिसमा आएपछि उनले ट्रेनिङ तथा भलिबलका आधारभुत ज्ञानबारे जान्ने मौका पाईन् । एथ्लेटिक्स खेलाडी भएकाले उनलाई जम्प र ब्लक गर्नमा निकै फाइदा पुग्यो । प्रर्दशन राम्रो हुन थालेपछि पुलिसले उनलाई नियमित खेलाडीको रुपमा राख्न थाल्यो ।
पछिल्लो समय उनले पुलिस टिममा आफुलाई मुख्य स्पाईकरको रुपमा चिनाउन थालेकी छिन् । राष्ट्रिय टिमबाट आफु र देशलाई अन्तराष्ट्रिय स्तरमा चिनाउने कामनाको मनोकामना छ ।