काठमाडौं । नेपालको भलिबल विभागमै केन्द्रित जस्तो देखिन्छ । जति पनि राम्रा खेलाडी छन्, ती विभागीय टिममै छन् । बाहिरका प्रतियोगितामा जति राम्रा खेलाडी देखिन्छ, विभागले तानिहाल्छन् । भविष्य सुनिश्चत गर्ने आशमा खेलाडी पनि विभागमा आबद्ध भैहाल्छन् । केही अपवाद बाहेक विभागीय टिम भन्दा बाहिर राम्रा खेलाडी देख्न गाह्रै हुन्छ ।
हप्ता दिन अघि मात्र काठमाडौंमा एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब लिग च्याम्पियनसिप सम्पन्न भयो । मोफसलबाट आएका भरतपुर मेट्रो सिटी र ढोरपाटन स्पोर्ट्स क्लबले कमजोर नतिजा निकाले । क्लबको नतिजा कमजोर रहेपनि केही खेलाडीको प्रर्दशन भने उम्दा थियो । गतिलो प्रशिक्षण पाएको खण्डमा केही खेलाडीले भविष्यमा राम्रो प्रर्दशन गर्ने देखिन्छ । ती मध्य भरतपुरका दुई खेलाडीले राष्ट्रिय टिमको क्लोज क्याम्पमा पर्ने सम्भावना देखाएका छन् ।
निशा चौधरी :
२०६२ साल मंसिर २९ मा निशा चौधरीको जन्म बुटवलको मणिग्राममा भयो । बुवा जित चौधरी र आमा शान्तीको कोखबाट पहिलो सन्तानको रुपमा । बुवा जित एपीएफबाट रिटायर्ड भएका पूर्व शैनिक हुन् । आमाले घर सम्हाल्छिन् । गत मंसिरमा मात्र १५ वर्ष पुगेकी निशा एनभीए क्लब च्याम्पियनसिपमा देखिएकी नयाँ अनुहार हुन् ।
भरतपुर मेट्रो सिटीबाट प्रतियोगितामा सहभागिता जनाएकी निशाको यो नै पहिलो ठूलो प्रतियोगिता हो । कक्षा दशमा अध्ययनरत निशा पहिला एथ्लेटिक्सकी खेलाडी थिईन् । उनले भलिबल खेल्न सुरु गरेको मात्र दुई वर्ष भएको छ ।
भलिबलमा ईच्छा त थियो । तर आधारभुत नियमबारे थाहै थिएन । एथ्लेटिक्सका प्रशिक्षक रामु पाण्डेले उनको अग्लो कद देखेर भलिबलमा लाग्न प्रेरित गरे । त्यसपछि उनको दौड भलिबलतर्फ मोडियो ।
ट्रेनिङमा उनलाई साह्रै रमाइलो लाग्थ्यो । घरबाट पनि खेल्नका लागि उनलाई सहयोग थियो । खेलमा लाग्न निशालाई अझ सहज भयो ।
‘कुनै बेलामा पढाई बिग्रिदा नखेल भन्नुहुन्थ्यो, तैपनि खेल्न सहयोग छ । खेलले गर्दा पढाई नबिग्रियोस भन्नुहुन्छ ।’ उनले भनिन् ।
उनलाई घरमा अझ सहज छ । कारण, पढ्न र खेल्न भनेपछि उनलाई घरको काम गर्नै पर्दैन ।
उनी अभ्यास गर्ने लुगा बोकेर बिहान स्कुल जान्छिन् । स्कुलपछि साँझसम्म भलिबल खेलेकै बित्छ । बिदाको दिन त खेल्नु छदैछ । उनको दिनचर्या यस्तै बनेको छ ।
निशा पहिला ब्याकबाट खेल्थिन् । तर टिमकी मुख्य स्पाइकरलाई चोट लागेपछि उनको पोजिसन फेरियो । उनले अगाडीबाट खेल्ने मौका पाईन् । निशाले गाउँघरका प्रतियोगिता धेरै खेलेकी छिन् । उनको प्रदर्शनलाई अझ राम्रो बनाउन प्रशिक्षक रामुले बुटवल एभरेष्ट स्कुलका प्रशिक्षकसंग लगे । उनको खेलमा अझ सुधार आयो । र भरतपुरको टिममा समावेश भएर उनी काठमाडौं खेल्न आईन् ।
पहिलो पटक ठूलो प्रतियोगिता खेलेकी निशाले क्लब च्याम्पियनसिप खेल्दा खुशी लागेको बताईन् ।
‘यो ठूलो प्रतियोगिता हो । सबैलाई देख्दा खुशी लागेको छ । प्रोफेसनल खेलाडीसँग खेल्दा अलिअली डर लागेको थियो । पहिलो पटक भएर पनि होला ।’ उनले भनिन् ।
उनले राम्रो ट्रेनिङ पाएको खण्डमा उत्कृष्ट प्रर्दशन गर्ने बताईन् ।
‘ट्रेनिङ पायौ भने हामीले पनि उनीहरु जसरीनै खेल्न सक्छौ । हाम्रो ट्रेनिङ पनि खासै छैन, गुरु एथ्लेटिक्सको प्रशिक्षक हुनुहुन्छ । एसईई छ, पढ्नुपर्छ । त्यसैले पनि ट्रेनिङ भएको छैन ।’ उनले भनिन् ।
निशा राष्ट्रिय टिमकी स्पाईकर सरस्वती चौधरीको समर्थक हुन् । सरस्वती जस्तै राम्रो खेलाडी बन्ने सोच उनले बोकेकी छिन् ।
आरती सुवेदी :
चितवनको पर्साढापमा २०६१ सालमा बुवा नारायण प्रसाद र आमा सिता सुवेदीको कोखबाट दोस्रो सन्तानको रुपमा आरतीको जन्म भयो । भरतपुर मेट्रो सिटीबाट एनभीए क्लब च्याम्पियनसिप खेल्न आएकी आरती गत वर्ष सागको बन्द प्रशिक्षणमा समेत परेकी थिईन् । उनी बन्द प्रशिक्षणमा उत्कृष्ट ११ बाट बाहिरिईन् । उमेरले मात्र १६ वर्ष रहेकी आरतीले सानैबाट भलिबल खेलेकी भने हैनन् । उनलाई भलिबलमा इच्छा समेत थिएन । गाउँघरमा धेरै भलिबल खेल पनि हुदैन ।
उनले भलिबल पहिलोपटक किताबमा देखेकी थिईन् । स्कुलमा भलिबल त हुन्थ्यो, तर इच्छा नभएकी उनी अभ्यास गर्न छाडेर घरतिर लाग्थिन् ।
उनले कक्षा ८ सम्म गाउँकै स्कुलबाट अध्ययन गरिन् । त्यसपछि शिक्षा पुरा गर्न अर्काे स्कुलमा जानुपथ्र्याे । उनलाई भलिबलको बारेमा केही कुरा पनि थाहा थिएन । त्यो बेला बास्केटबलको ड्रेसले भने लोभ्याएको थियो । जसका कारण आरती बास्केटबल खेलाउने स्कुलमा भर्ना हुन चाहन्थिन् । तर उनको भाग्यमा भलिबलनै लेखिएको थियो ।
सानो उमेरकी उच्च कद भएकी आरती परीक्षा दिन जाँदा जानकी स्कुलका शिक्षक बाबुराम सरको आँखामा परिन् । उनलाई आफ्नो स्कुलमा लिनका लागि प्रिन्सिपल तथा शिक्षक घरमै पुगे ।
परिवारसंग आरतीलाई आफ्नो स्कुल पठाउन प्रस्ताव राखे । उनलाई भलिबल खेल्न इच्छा छ भनेर प्रश्न गरे । उनले सिधै नकारिन् । किनकी उनलाई बास्केटबल खेलाउने स्कुलमा जानु थियो ।
उनलाई आफ्नै स्कुलमा पढाउने, खेलाउने भनेर प्रिन्सिपलले परिवासँग कुरा गरे । इच्छा नहुँदा पनि आरती र उनकी दिदी जानकी माविमा भर्ना भए । त्यहीबाट उनको भलिबल जीवनको यात्रा सुरुवात भयो । करिब दुई वर्ष उनले भलिबल खेलेको हेर्दैमा बिताईन् । त्यसपछि बल बोक्ने, ल्याउने, दिने गर्न थालिन् । उनी त्यो समय १३ वर्षकी थिईन् । त्यसपछि उनले भलिबल खेल्न बिस्तारै सुरु गरिन् । उनलाई शिक्षकहरुले सधै खेल्न प्ररेणा दिन्थे ।
आरती १४ वर्षको हुँदा पहिलोपटक स्कुलको टिममा परेकी थिईन् । स्कुलको टिमबाट उनले राष्ट्रपति रनिङ शिल्ड खेलिन् ।
आरती भन्छिन्, ‘सुरुमा प्रदेशबाट खेल्न आएको थिए । न्यु डाईमण्डबाट प्रतिभा दिदी हुनुहुन्थ्यो । उहाँसँगको खेलमा मलाई सेटमा राखियो । उहाँले स्पाइक गर्दा खुट्टामा हान्नुहुन्थ्यो । सुरुमा निकै डर लाग्यो ।’
त्यसपछि आरतीले विगतलाई फर्केर हेर्नुपरेन । खेलको अनुभव बढ्दै गएपछि डरबाट छुटकारा पाएको उनले बताईन् ।
‘त्यसरीनै दुईचार वर्ष भयो । धेरै प्रतियोगिता खेले । अनुभव बढ्यो, सबै थाहा पनि पाए । पछि डर लागेन । यस्तै हो जस्तो लाग्थ्यो ।’ आरती भन्छिन् ।
उनले गाउँघरको धेरै प्रतियोगिता खेलेकी छिन् । सधै उनले उत्कृष्ट स्पाइकरको उपाधि पाउने गर्छिन् ।
उनले आठौं राष्ट्रिय खेलकुद प्रतियागिता पनि खेलिन् । जसबाट नेपालमा हुने १३ औं सागका लागि छनौट गरिएको थियो । आरती पनि छनौट गरिएको ३२ खेलाडीमा पर्न सफल भईन् । उनले राम्रोसँग ट्रेनिङ बन्द प्रशिक्षणमा आएपछि गर्न पाईन् ।
राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा आएपछि उनको घुँडामा समस्या भयो । भलिबल खेल्न निकै सहयोग गर्ने परिवारबाट नखेल्न सुझाव आयो । तर उनले उल्टै परिवारलाई सम्झाईन् ।
‘थाईल्याण्ड जाँदा घुँडा दुख्थ्यो मात्र । चेकअफ गर्दा केही छैन भनेको थियो । नेपालमा हुँदा बायाँ र उता गएपछि दायाँ घुँडा दुख्न थाल्यो । सुन्निएको थियो । त्यो बेलामा परिवारबाट खेल्न छोड भन्ने कुरा आएको थियो । तर मैले सम्झाए । सबैको यस्तै भइरहेको छ, ठिक हुन्छ भन्दै खेले ।’ उनले भनिन् ।
‘सरका अनुसार स्पाईक हान्न सबैभन्दा पहिला मैले सिकेको थिए । स्पाईक स्टेप पनि मेरो राम्रो थियो । तर ट्रेनिङ गर्न अल्छी गरेकाले बिगिएको उहाँले भन्नुहुन्थ्यो ।’ आरती भन्छिन्, ‘पहिला मनै पर्दैन्थ्यो । अहिले मनले मान्दैन । छोड्न सक्दिन ।’
कक्षा १२ मा अध्ययनरत आरती इच्छाएको खेलमा मेहेनत गर्यो भने भविष्य बन्ने कुरामा विश्वस्त छिन् । भन्छिन ‘आफुले मेहेनत गर्नुपर्छ । अवश्य भविष्य बन्छ । तर नेपालमा खेलेर नै जिन्दगी कटाउन त सकिदैन । पछि के गर्ने, त्यसका लागि सोच्नुपर्छ ।’
आरतीको मनपर्ने खेलाडी प्रतिभा माली र मान बहादुर श्रेष्ठ हुन् । भविष्यमा उनीहरुजस्तै भलिबलमा नाम कमाउने उनको लक्ष्य छ ।