काठमाडौं । नेपाल भलिबल संघको आसन्न नेतृत्वका लागि ईन्दिरा निरौलाले समेत दाबेदारीता प्रस्तुत गरेकी छिन् ।
राष्ट्रिय खेलकुद परिषद्की बोर्ड सदस्य समेत रहेकी निरौलाले भलिबल संघको आसन्न निर्वाचनमा अध्यक्षमा उठ्ने घोषणा गरेकी हुन् ।
उनले भलिबललाई नयाँ उचाईमा पुर्याउन संघको नेतृत्वका लागि उम्मेदवारी दिने बताएकी छिन् ।
संघको वर्तमान नेतृत्वले भलिबललाई नयाँ आयाम दिन सफल भएको उल्लेख गर्दै निरौलाले उपयुक्त पात्रको रुपमा आफुले उम्मेदवारी घोषणा गरेको बताईन् ।
‘नयाँ ऐनका कारण संघहरुको चुनाव हुन सकेको छैन ।’ उनले भनिन्, ‘भलिबलमा योगदान गरेर यहाँसम्म आईपुगेको हुँ । वर्तमान नेतृत्वले भलिबललाई नयाँ उचाई दिएको छ । अब राम्रो नेतृत्व नहुँदा संघ बिग्रन्छ कि भन्ने चिन्ता छ । साेही कारण उम्मेदवारी दिने घाेषणा गरेकी हुँ।’
‘वर्तमान नेतृत्व अघि नसर्ने देखिएपछि काँध थाप्न तयार भएको हुँ । भलिबलमा लगाब छ । सिनियर भएर आएको हुँ ।’ उनले भनिन्।
ईन्दिरा भलिबलकी अन्तराष्ट्रिय खेलाडी हुन् । उनी दोस्रो पटक राखेपको बोर्ड सदस्यमा मनोनित भएकी हुन् ।
यसअघि भलिबल संघको आगामी नेतृत्वका लागि निरोज मास्केले उम्मेदवारी घोषणा गरेकी थिईन् । मास्के संघकी वर्तमान उपाध्यक्ष समेत हुन् ।