काठमाडौं । बोधीसदन तेक्वान्दो डोजाङकी रञ्जना थापाले दोश्रो इन्डो–नेपाल खुला अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिताको महिला सिनियर ६२ केजीमाथि सोमबार स्वर्ण जितेकी छन् । रञ्जनाले फाइनलमा अलाइफ तेक्वान्दो टिम नवलपुरकी विनि थारुलाई पराजित गरिन् ।
राष्ट्रिय तेक्वान्दो संघ नेपाल र अन्तर्राष्ट्रिय मार्सल आर्ट्स एकेडेमी नेपाल (इमान) द्वारा संयुक्त आयोजित प्रतियोगिताको सिनियरतर्फ नै पुरुष ७४ केजीमाथि युनिटी तेक्वान्दो डोजाङका सुजन गिरी, पुरुष ५४ केजीमुनि टीसीएन तेक्वान्दो डोजाङका विप्लव वाइबा, महिला ५७ केजीमुनि सोदेपुर तेक्वान्दो एकेडेमी, भारतकी संगिता चक्रवर्ती, पुरुष ५८ केजीमुनि बोधीसदनका विवेक बस्नेत, महिला ६२ केजीमुनि चितवन कथर तेक्वान्दो डोजाङकी संगिता तामाङ पुरुष ६३ केजीमुनि बोधीसदनका निराजन खड्का, पुरुष ६८ केजीमुनि गैडाकोट तेक्वान्दो डोजाङका अनिश परियार र पुरुष ७४ ७४ केजीमुनि अलाइफका मनीष खनाल पहिलो भए ।
विजेतालाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का उपाध्यक्ष शिव कोइरालालगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा भएको दुईदिने प्रतियोगितामा नेपालबाट ४ सय ४० र भारतबाट ६० गरी ५ सय खेलाडीको सहभागिता रहेको आयोजकले जनाएको छ ।