काठमाडौं । भारतीय सेनाबाट प्रतिस्पर्धा गरेका सरोज गुरुङले दोस्रो इन्डो–नेपाल खुला अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा आइतबार दोहोरो स्वर्ण जितेका छन् ।
आइतबार राष्ट्रिय तेक्वान्दो संघ नेपाल र अन्तर्राष्ट्रिय मार्सल आर्ट्स एकेडेमी नेपाल (इमान) द्वारा संयुक्त आयोजित प्रतियोगितामा सरोजले एकल र टिम पुम्सेमा गरी दोहोरो स्वर्ण जितेका हुन् ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भएको प्रतियोगितामा पुम्सेतर्फ सरोजले पुरुष ३१ वर्षमाथि एकल पुम्से र सोही उमेरसमूहको टिम पुम्सेमा स्वर्ण जिते ।
सरोजले टिम पुम्सेमा भने त्रिलोक सुब्बा र राधाबहादुर तामाङसँग मिलेर सफलता हात पारे । महिला १८–३० वर्षमा बोधीसदन तेक्वान्दो डोजाङकी सविना भट्टराई, पुरुष ४१–५० वर्षमा टिसिएन तेक्वान्दो डोजाङका मानबहादुर वाइबा र पुरुष ५१ वर्षमाथि भारतका त्रिलोक सुब्बाले स्वर्ण जिते ।
प्रतियोगिताको राखेपका सदस्यसचिव रमेशकुमार सिलवालले एक कार्यक्रमबीच उद्घाटन गरेका थिए । सदस्यसचिव सिलवालले पहिलो दिनका विजेतालाई पुरस्कृत समेत गरेका थिए । उद्घाटनका अवसरमा राष्ट्रिय तेक्वान्दो संघ नेपालका वरिष्ठ उपाध्यक्ष एकनाथ थापा, उपाध्यक्षद्वय प्रेम भुजेल र ध्रुवबहादुर गुरुङ, महासचिव राजकुमार कार्की, प्रमुख प्रशिक्षक हरिबहादुर बुढाथोकीलगायतको उपस्थिति रहेको थियो ।
प्रतियोगितामा नेपालबाट ४ सय ४० र भारतबाट ६० गरी ५ सय खेलाडीको सहभागिता रहेको छ । प्रतियोगिता सोमबार सम्पन्न हुने छ ।