काठमाडौं । दिलिप स्मृति प्रतिष्ठानको आयोजनामा चौथो दिलिप स्मृति उपत्यकाव्यापी तेक्वान्दो प्रतियोगिता शुक्रबारदेखि हुने भएको छ ।
प्रतियोगितामा विभिन्न डोजाङ र स्कुल गरी १९ टिमका १ सय २८ पुरुष र ६२ महिला गरी जम्मा १ सय ९० खेलाडीको सहभागिता रहने प्रतिष्ठानका अध्यक्ष राजेन्द्र खत्रीले जनाएका छन् । पुरुषमा ११ र महिलामा ९ गरी २० स्पर्धामा प्रतिस्पर्धा हुने छ ।
शीर्ष तीन स्थान हात पार्ने टिमलाई क्रमशः १५ हजार, १० हजार र ५ हजार नगद पुरस्कार प्रदान गरिने छ । उत्कृष्ट पुरुष÷महिला खेलाडीलाई पनि नगदबाट पुरस्कृत गरिने छ ।
दुईदिने प्रतियोगिताका खेलहरु त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को सेमी कभर्डहलमा हुने छ ।