काठमाडौं । नेपाल एपीएफ क्लबकी पुष्पा भण्डारी र त्रिभुवन आर्मीका गजेन्द्र राईले प्रथम किसुन जी स्मृति राष्ट्रिय महिला तथा पुरुष खुल्ला हाफ म्याराथनको उपाधि जितेका छन् ।
शनिबार आयोजना भएको प्रतियोगितामा पुष्पा महिलातर्फ र गजेन्द्र पुरुषतर्फ च्याम्पियन बनेका हुन् ।
महिलातर्फ च्याम्पियन बन्ने क्रममा पुष्पाले निर्धारित दुरी १ घण्टा २३ मिनेट ३७ सेकेण्डमा पूरा गरिन् । पुष्पाको यो लगातार चौंथो उपाधि हो ।
महिलातर्फ आर्मी क्लबकी पूर्णलक्ष्मी न्यौपाने १ घण्टा २८ मिनेट ४१ सेकेण्डको समयसहित दोस्रो भईन् । तेस्रो भएकी एपीएफकी आशा राउतले १ घण्टा ३६ मिनेट ४९ सेकेण्डको समय निकालिन ।
पुरुषतर्फ उपाधि जित्न गजेन्द्रले निर्धारित दुरी १ घण्टा ६ मिनेट ५१ सेकेण्डमा पूरा गरे । आर्मीकै खगेन्द्र भाटले १ घण्टा ७ मिनेट २० सेकेण्डको समय निकाल्दै दोस्रो भए ।
आर्मीका रामजी बस्नेत १ घण्टा ९ मिनेट ३९ सेकेण्डसहित तेस्रो भए । आर्मीकै देवराज बस्नेत चौंथो र जितेन्द्र अधिकारी दनुवार पाँचौं स्थानमा रहे ।
हाफ म्याराथनको विजेता महिला र पुरुष खेलाडीले समान २५/२५ हजार प्न्राप्त गरे । यस्तै दोस्रोले १५/१५ हजार, तेस्रोले १०/१० हजार पाउँदा चौंथो र पाँचौं हुनेले समान ५/५ हजार पाएका छन् ।
नेपाल लोकतान्त्रिक खेलकुद संघ बागमती प्रदेशले आयोजना गरेको हाफ म्याराथन काठमाडौं क्षेत्र नम्बर ४ को गोल्फुटारको बास्केटबल कोर्टबाट सुरु हुने हाफ म्याराथन पुन: गोल्फुटारमा आएर सकिने छ ।