काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव रमेश सिलवालले राखेपको नियम विपरित चलिरहेको संघहरुलाई कारबाही गर्ने बताएका छन् ।
नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) को 'एनएसजेएफ एकेडेमी' उद्घाटन कार्यक्रममा बोल्दै नियम विपरित चलिरहेको संघलाई कारबाही गर्ने बताएका हुन् ।
'सबै संघ नियममा हिड्नुपर्छ, जसको खेलाडी हुँदैन उसैलाई मैदान, कर्भडहल चाहिन्छ । राम्रो कार्यक्रम गर्ने संघले योजना, प्रतिवेदन ल्याएमा थप बजेट दिने व्यवस्था गर्छु,' सिलवालले भने, 'तर, संघले वार्षिक प्रतिवेदन, योजना, फर्छ्यौट बुझाउदैन त्यस्तोलाई अब कारबाही हुन्छ । प्रत्येक संघले बुझाउनुपर्छ ।'
सदस्य सचिव सिलवालले नियम विपरित काम गर्ने संघलाई खारेज गरेमा नयाँ संघले मौका पाउने बताए ।
'संघले खेलाडी विकास गर्ने, योजना, कार्यक्रम ल्याउदैन त्यस्तो संघ मर्नु वेश हुन्छ त्यसको बदलामा अरु नयाँ संघ त आउछन् । खेलकुद सकारात्मक बाटोमा आउने हो भने संघका मान्छेपनि राम्रो आउनुपर्छ,' उनले भने ।
यस्तै सिलवालले खेलकुद पत्रकारहरु अनुसन्धानमा कमजोर रहेको भन्दै त्यसलाई एनएसजेएफ एकेडेमीले सुधार गर्नु पर्ने बताए ।