काठमाडौं । प्रथम देवदह टेबल टेनिस च्याम्पियनसिप अन्तर्गत कक्षा ५ देखि ७ सम्मको स्पर्धामा सगरमाथा इंग्लिस बोर्डिङ स्कुलका सनम थापाले स्वर्ण पदक जितेका छन् ।
सनमले केर्वारी सेकेण्डरी स्कुलका सुमिन न्यौपानेलाई पराजित गर्दै स्वर्ण जितेका हुन् । सनम प्रतियोगिताकै उत्कृष्ट खेलाडी समेत चुनिए । देवदह इंग्लिस स्कुलका सामेल रोका तेस्रो भए ।
कक्षा ८ देखि १० सम्मको स्पर्धामा सगरमाथाकै दिपानकर बाह्रघरेले स्वर्ण जिते । देवदहका अर्पण पौडेल दोस्रो र सगरमाथाकै दिप्सन बस्नेत तेस्रो भए ।
कक्षा १० देखि १२ सम्ममा सगरमाथाका बिपित कार्कीले स्वर्ण जिते । ग्रीन पोइन्टका रेमन शर्मा दोस्रो र बुद्ध पब्लिकका जीवन थापा तेस्रो भए ।
टेबल टेनिस क्लब अफ देवदहको आयोजनामा भएको प्रतियोगितामा सगरमाथा टिम च्याम्पियन बन्यो । सगरमाथाले ३ स्वर्ण र १ कास्य पदक जित्यो ।
दुई दिने प्रतियोगिताको विजेताले ५ हजार, उपविजेताले ३ हजार ५ सय र सेमिफाइनलमा पुग्ने खेलाडीले १ हजार ५ सय बराबरको टेबल टेनिस खेल सामग्री प्राप्त गरे ।
प्रतियोगिताका विजेतालाई प्रदेश सभा सदस्य डा कृष्ण न्यौपाने, देवदह नगरपालिकाका मेयर हिरा केसी लगायतले पुरस्कृत गरे ।