पोखरा । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा आगामी वैशाखमा २० मा हुने स्पोर्टस अवार्डको तयारी थालिएको छ । मञ्चका अध्यक्ष एकराजगिरीले पाँचौ पोखरा स्पोर्टस अवार्डको तयारी तीव्र पारिएको जानकारी दिएका छन् ।
मञ्चले पछिल्लो केही वर्ष यतादेखि वर्षेनी आयोजना गर्दै आएको कार्यक्रम गत वर्ष कोरोना महामारीका कारण स्थगित भएको थियो । मञ्चले अघिल्लो वर्षको स्थगित अवार्डलाई समेट्न २०७६ र ०७७ दुवैलाई जोड्ने छ ।
विश्व प्रेस स्वतन्त्रता दिवसको दिनमा आयोजना हुने कार्यक्रममा मञ्चले दुवै वर्षलाई आधार मानेर खेलाडीको प्रतिभा प्रदर्शन आधारमा विभिन्न ८ विधामा अवार्ड प्रदान गर्ने अध्यक्ष गिरीले जानकारी दिएका छन् ।
कार्यक्रममा लाइफ टाइम अचिभमेन्ट अवार्ड, वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, वर्ष उदियमान खेलाडी, वर्ष उत्कृष्ट प्रशिक्षक, वर्ष उत्कृष्ट खेल संघ र वर्ष उत्कृष्ट पत्रकारिता अवार्ड प्रदान गरिने छ ।
अवार्डका लागि राष्ट्रिय खेकलुद परिषद र पोखरा महानगरपालिकाले पोखरा स्पोर्टस अवार्डका लागि आफनो बार्षिक बजेट पुस्तिकामै ३÷३ लाख रुपैयाँ विनियोजन गरेका छन ।
अवार्डलाई विभिन्न व्यवसायीक र ब्यक्तिहरुले आर्थिक सहयोग गरेका छन् । पोखराको लेकसाइडमा सञ्चालित माई होटलले नवप्रतिभा खेलाडी पुरस्कार प्रायोजना गरेको छ । अवार्डका लागि विदेश तथा स्वदेशबाट सहयोग आउने क्रम जारी रहेको मञ्चले जनाएको छ ।
कार्यक्रम सम्पन्न गर्न मञ्च अध्यक्ष एकराज गिरीको संयोजकत्वमा १ सय १ सदस्यीय मूल आयोजक समिति गठन गरिएको छ । अवार्डलाई भब्य र सभ्य रुपमा सम्पन्न गर्न विभिन्न उपसमिति समेत गठन गरेको छ । जसअनुसार मञ्चका संस्थापक अध्यक्ष एवं नेपाल पत्रकार महासंघ केन्द्रीय सदस्य रामकृष्ण ज्ञवालीको संयोजकत्वमा सल्लाहकार उपसमिति गठन गरेको छ । सल्लाहकार समितिमा पत्रकार महासंघ गण्डकी प्रदेशका ११ वटै जिल्लाका महासंघ अध्यक्ष, विभिन्न खेलसम्बद्ध संघका अध्यक्ष समेत सदस्य रहेका छन् ।
विगतमा जिल्लास्तरको उक्त अवार्ड चौथो संस्करणदेखि गण्डकी प्रदेशस्तरीय बनाइएको हो । त्यस्तै मञ्चले आइतबार पत्रकार सम्मेलन गर्दै नोमिनी खेलाडीको नाम सार्वजनिक गर्ने बताएको छ ।