काठमाडौं । जापानमा हुने टोकियो ओलम्पिक छनोट खेल्न नेपाली भारोत्तोलन खेलाडी बिहिबार उज्वेकिस्तान प्रस्थान गर्ने भएका छन् । दुई खेलाडिसहित तीन सदस्यीय टोली आज राति त्यसतर्फ प्रस्थान गर्ने भएका हुन् ।
उज्वेकिस्तानमा अप्रिल १६ देखि २५ सम्म आयोजना हुने ४९ औं पुरुष तथा ३० औं महिला एशियन भारोत्तोलन च्याम्पियनसिपलाई नै ओलम्पिक छनोटका रुपमा हेरिएकाे
छ । साेही छनाेट खेल्न नेपाली टोली त्यसतर्फ जान लागेको प्रशिक्षक सन्जय महर्जनले जानकारी दिए ।
नेपाली टोलीले छनोट खेल खेल्नु पूर्व उज्वेकिस्तानमा तीन साता बन्द प्रशिक्षणमा रहनेछ । तीन साताको बन्द प्रशिक्षणपछि मात्रै नेपाली खेलाडीले आफ्नो चुनौती प्रस्तुत गर्ने छन् ।
प्रशिक्षक महर्जनले छनोट खेलमा नेपाली खेलाडीले राम्रो प्रदर्शन दिनेमा आशावादी रहेको बताए । पछिल्लो एक वर्ष यता खेलाडीले प्रतियोगिता खेल्न नपाएकाले खेलाडीको स्तर मापन गर्न नपाएको समेत उनले उल्लेख गरे ।
उज्वेकिस्तान जाने टोलीमा सन्जु चौधरी र कमला श्रेष्ठ तथा प्रशिक्षकमा सन्जय महर्जन रहेका छन् । उनीहरुलाई बिहिबार नेपाल ओलम्पिक कमिटिमा अध्यक्ष जीवनराम श्रेष्ठले बिदाई गरेका थिए ।