काठमाडौं । नेपाल ह्यान्डबल संघका अध्यक्ष तेज बहादुर गुरुङ गण्डकी प्रदेश खेलकूद परिषद्को सदस्य सचिव नियुक्त भएका छन् ।
गण्डकी प्रदेश मन्त्री परिषदको बैठकले आइतबार गुरुङलाई सदस्य सचिवमा नियुक्त गरेको हो ।
गण्डकी प्रदेश खेलकूद विकास ऐन २०७७ को परिच्छेद १४ को क बमोजिम गुरुङ सदस्य सचिवमा नियुक्त भएका हुन् ।
परिषदको सदस्य सचिवका लागि गुरुङसहित नवराज अधिकारीले आवेदन दिएका थिए ।
परिषदको सदस्य सचिव नियुक्त भएपछि गुरुङले गण्डकी प्रदेशको खेलकुद विकासका लागि आफुले ७ बुदे योजना अघि सार्ने बताए ।
'सदस्य सचिव नियुक्तका लागि प्रपोजल पेश गर्नु प्रावधान थियो । जसमा मैले ७ बुदे योजना अघि सारेको छु । त्यसलाई कार्यन्वयन गर्नु पर्छ,' गुरुङले खेलपाटीसँग भने ।
नेपाल ओलम्पिक कमिटी (एनओसी) का उपाध्यक्ष समेत रहेका गुरुङले उत्कृष्ट खेलाडी उत्पादन, पूर्वाधार विकास, स्पोर्ट्स फर अल र शिक्षासँगै खेलकुदलाई अघि बढाउने मुख्य योजना रहेको बताए ।
कास्की पोखराका गुरुङ बास्केटबल खेलबाट नेपाली खेलकुदमा प्रवेश गरेका थिए । तर, उनी पछि ह्यान्डबलका खेलाडी बनेका थिए ।
गुरुङ नेपाल ह्यान्डबल टिमका पूर्व कप्तान समेत हुन् ।