काठमाडौं । पहिलो संस्करणको देशव्यापी अन्तर वडा टेबल टेनिस प्रतियोगिताको तयारी पूरा भएको छ ।
आयोजक स्पिन इभेन्ट्स प्रालिले आइतबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको तयारी पूरा भएको जनाएको छ ।
अखिल नेपाल टेबल टेनिस संघको तत्वावधानमा वार्षिक कार्यक्रम अन्तर्गत रहेको प्रतियोगिता लैनचौरस्थित राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्रमा भोलिबाट सुरु हुँदैछ ।
प्रतियोगितामा देश भरका वडाहरुबाट पुरुषमा २६ टिमसहित ४ सय ३३ खेलाडी र महिलामा ८ टिमसहित ९० खेलाडीले प्रतिस्पर्धा गर्ने छन् ।
प्रतियोगितामा मेन्स टिम, वुमेन्स टिम, मेन्स सिंगल, वुमेन्स सिंगल, मेन्स भेट्रान सिंगल्स (४० वर्षमाथि) र मेन्स भेट्रान्स सिंगल्स (५५ वर्षमाथि) को स्पर्धामा प्रतिस्पर्धा हुनेछ ।
तर, वर्तमान शीर्ष १६ वरीयता प्राप्त टेबल टेनिस खेलाडी खेल्न पाउने छैनन् ।
प्रतियोगिताको मेन्स/वुमेन्स सिंगल्स स्पर्धाको प्रथम, द्वितीय र तृतीय (दुवै सेमी-फाइनलिष्ट) हरूले क्रमशः ३० हजार, १५ हजार र ७ हजार ५ सय नगद पुरस्कार पाउने छन् ।
यस्तै भेट्रान्स सिंगल्सतर्फ प्रथम, द्वितीय र तृतीय (दुवै सेमी-फाइनलिष्ट) हरूलाई क्रमशः १० हजार, ५ हजार र २ हजार ५ सय प्रदान गरिने छन् ।
त्यस्तै प्रतियोगितामा सर्वाधिक पदक जितेर टिम च्याम्पियन बन्ने वडालाई ५० हजार र रनिङ्ग शिल्ड प्रदान गरिनेछ ।
प्रतियोगिताको अनुमानित बजेट १९ लाख ५० हजार रुपैया रहेको छ ।
यस्तै आयोजकले गंगादेवी वस्त्रालयसँग सह-प्रायोजन सम्बन्धि सम्झौता पत्रमा हस्ताक्षर गरेको छ ।
स्पिनका अध्यक्ष सुमन शाक्य र गंगादेवीका प्रकाश बर्तौलाले सम्झौता पत्रमा हस्ताक्षर गरे ।
सम्झौतासँगै गंगादेवीले प्रतियोगिता आयोजनाका लागि लाग्ने कुल बजेटको ३० प्रतिशत खर्च व्यहोर्ने छ ।