काठमाडौं । काठमाडौं मेयर्स कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा बागमती प्रदेशले त्रिभुवन आर्मी क्लबलाई जितका लागि २ सय ६७ रनको लक्ष्य दिएको छ ।
टियु क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको बागमतीले ४९ ओभर ४ बलमा अलआउट हुँदै २ सय ६६ रन बनायो ।
बागमतीले बनाएको यो स्कोर जारी प्रतियोगिताकै सर्वाधिक हो ।
बागमतीका लागि पारस खड्काले १ सय १९ रनको शतकीय इनिङ्स खेले । १ सय २२ बलमा शतक पूरा गरेका पारसले १ सय ३३ बलमा ११ चौका र २ छक्का प्रहार गरे ।
यस्तै नन्दन यादवले अविजित रहदै ४२ रन बनाए । त्यसबाहेक इशान पाण्डेले २६ रन जोड्दा आदील खानले २१ रन बनाए ।
पृथु बास्कोटा १२ रनमा आउट भए ।
आर्मीका सोमपाल कामीले ५ विकेट लिए । बिक्रम सोब, जितेन्द्र मुखिया, शाहब आलम र करण केसीले १/१ विकेट लिए ।
आर्मी ३ खेलमा २ अंक जोडेर तेस्रो स्थानमा रहेको छ । बागमती २ अंक सहित चौंथो स्थानमा रहेको छ ।
दुबै टिमको फाइनल पुग्ने सम्भावना रहेको छ । तर, अन्तिम खेलमा दुबै टिमलाई जितेर मात्र पुग्ने छैन ।
दुबै टिमलाई एपीएफको खेलको नतिजामा भर पर्नु पर्नेछ । यदि एपीएफले जितेमा दुबै टिम बाहिरिने छ ।