धनगढी । शारदा सरस्वतीले धनगढीमा जारी चण्डिका ग्रुप लिटल फ्लावर प्रिमियर लिग (एलपीएल) क्रिकेटको सेमिफाइनलमा स्थान बनाएको छ ।
बुधबार भएको खेलमा होलिल्याण्ड स्कुललाई २२ रनले पराजित गर्दै शारदा सरस्वतीले अन्तिम चारमा स्थान पक्का गरेको हो ।
संघीय प्रहरी इकाई कार्यालयको खेल मैदानमा टस हारेर ब्याटिङ गरेको शारदा सरस्वतीले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ४८ रन बनाएको थियो । उसका लागि गणेश बहादुर बिटालुले अविजित रहदै ५८ रन बनाए । होलिल्याण्डका राहुल भण्डारीले ३ विकेट लिए ।
शारदाले दिएको १ सय ४९ रनको विजयी लक्ष्यसहित मैदान उत्रिएको होलिल्याण्डले २० ओभरमा सबै विकेट गुमाउँदै १ सय २६ रन मात्रै बनाउन सक्यो । उसका लागि मनोज ओझाले ४५ रन बनाए पनि आफ्नो टीमलाई जिताउन सकेनन् । शारदा सरस्वतीको जितमा निरज चन्दले ३ र विकास सुनारले २ विकेट लिए ।
खेलको म्यान अफ द म्याच शारदाका गणेश बहादुर बिटालु चुनिए ।
यससँगै प्रतियोगिताको सेमिफाइनल समिकरण पूरा भएको छ । यस अघि धनगढीको लिटल फ्लावर, बौनियाको बाल बाटिका र काठमाडौंको हिमालयन ह्वाइट हाउस प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरिसकेका छन् ।
अब पहिलो सेमिफाइनलमा शारदा सरस्वती र हिमालयन ह्वाइट हाउस भिड्नेछन् भने दोस्रो सेमिफाइनलको खेल लिटल फ्लावर र बाल बाटिकाबीच हुनेछ ।
लिटल फ्लावर स्पोर्टस एन्ड इभेन्टसको आयोजनामा धनगढीको सङ्घीय प्रहरी इकाई कार्यालयको खेल मैदानमा भईरहेको पाँचौ संस्करणको प्रतियोगिताको फाइनल २९ गते हुनेछ ।
प्रतियोगिताको विजेताले एक लाख २० हजार नगदसहित ट्रफी र प्रमाणपत्र पाउने छ भने उपविजेताले ६० हजार प्राप्त गर्दा सर्वोत्कृष्ट खेलाडीले १० हजार पाउने छन् । यस्तै उत्कृष्ट ब्याट्सम्यान, बलर र उदीयमान खेलाडीलाई जनही ५÷५ हजार प्रदान गरिने छ ।