काठमाडौं । नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले युवा तथा खेलकुद मन्त्रालयले तयार पारेको खेलकुद ऐन– २०७५ को मस्यौदामा समावेश गर्न विभिन्न बुँदासहितको सुझाव लिखित रुपमा बुझाएको छ ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गत कानुन शाखामा सुझावसहितको बुँदा लिखित रुपमा बुझाएको खेलाडी संघका महासचिव शिवसुन्दर गोथेले जानकारी गराए ।
खेलाडी संघले बुझाएको सुझावमा सम्पूर्ण राष्ट्रिय खेल संघहरुमा सम्बन्धित खेलमा योगदान दिएका कम्तिमा एक महिलासहित दुई खेलाडीलाई अनिवार्य समावेश गर्नु पर्ने, प्रतियोगिताको वर्गिकरण गरी पदक विजेता खेलाडीलाई नियमित रुपमा के–कस्तो सेवा सुविधा उपलब्ध गराउने बारे ऐनमा प्रस्ट खुलाउनु पर्ने र राखेप अन्तर्गत सञ्चालनमा रहेको राष्ट्रिय खेलाडी कल्याणकारी कोष बारे खेलकुद ऐनमा व्यवस्था हुनु पर्ने उल्लेख गरिएको छ ।
यस्तै नयाँ पुस्ताका खेलाडीलाई खेल क्षेत्रमा आकर्षण बढाउन र अभिभावकले पनि खेल क्षेत्रमा भविष्य सुनिश्चित भएको बुझ्ने किसिमको व्यवस्था गर्नु पर्ने तथा खेलाडीको अनुभवलाई कसरी सदुपयोग गर्न सकिन्छ भन्ने विषय ऐनमा समावेश गर्नु पर्ने सुझाव खेलाडी संघको रहेको छ ।
।