काठमाडौं । श्रीलंकामा भएको रम्बल इन जंगल प्रतियोगितामा प्रतिस्पर्धा गर्ने क्रममा दुर्घटनामा परी निधन भएका साइक्लिङ खेलाडी नारायण गोपाल महर्जनका परिवारलाई बीमा रकम हस्तान्तरण गरिएको छ ।
राष्ट्रिय खेलकुद परिषद (राखेप) ले एनएलसी इन्सोरेन्स कम्पनि लिमिटेडबाट आएको बीमा रकम वापतको ७ लाख रुपैयाँ महर्जनको परिवारलाई प्रदान गरेको हो । राखेपका सदस्य सचिव केशव कुमार बिष्टले बीमा रकम महर्जनकी आमा मैया महजर्नलाई हस्तान्तरण गरेका थिए ।
साइक्लिङका राष्ट्रिय च्याम्पियन समेत रहेका महर्जनको गत जेठमा निधन भएको थियो । महर्जनको साइक्लिङ रेसकै दौरान कुदा ओया नदीमा खसेर निधन भएको थियो । साइकलसहित नदीमा खसेर बेपत्ता भएका महर्जनको शव केहि घण्टापछि भेटिएको थियो ।
यस्तै नेपाल साइक्लिङ संघले पनि महर्जनको परिवारलाई १ लाख २५ हजार सहयोग रकम प्रदान गरेको थियो ।