काठमाडौं । पूर्व प्रधानमन्त्री तथा सन्त नेता कृष्ण प्रसाद भट्टराई (किसुनजी) को स्मृतिमा प्रथम किसुन जी स्मृति राष्ट्रिय महिला तथा पुरुष खुल्ला हाफ म्याराथन आयोजना हुने भएको छ ।
नेपाल लोकतान्त्रिक खेलकुद संघ बागमती प्रदेशले बुधबार पत्रकार सम्मेलन गर्दै हाफ म्याराथन चैत २२ गते शनिबार आयोजना हुने जनाएको छ ।
प्रतियोगितामा ५० देखि ८० धावकहरुको सहभागिता रहने आयोजकले जनाएको छ ।
हाफ म्याराथनको विजेता महिला र पुरुष खेलाडीले समान २५/२५ हजार पाउने छन् । यस्तै दोस्रोले १५/१५ हजार, तेस्रोले १०/१० हजार पाउँदा चौंथो र पाँचौं हुनेले समान ५/५ हजार पाउने छन् ।
काठमाडौं क्षेत्र नम्बर ४ को गोल्फुटारको बास्केटबल कोर्टबाट सुरु हुने हाफ म्याराथन पुन: गोल्फुटारमा आएर सकिने छ ।
प्रतियोगिताको आयोजना गर्न करिब ९ लाख खर्च हुने अध्यक्ष दिपक गुरुङले जानकारी गराए ।
अध्यक्ष गुरुङले संघको योजना स्थानीय, राष्ट्रिय र अन्तराष्ट्रिय गरि तीन तहमा प्रतियोगिता आयोजना गर्ने रहेको बताए ।
म्याराथनकै दिन खेल पत्रकार श्याम चित्रकार, एथलेटिक्सका पूर्व खेलाडी जित बहादुर आले, बैकुण्ठ मानन्धर र बक्सिङका पूर्व खेलाडी सुरेश सिंह आलेलाई सम्मान गरिने आयोजकले जनाएको छ ।