पोखरा । त्रिभुवन आर्मी क्लबका राजन रोकायाले १५ औं सस्करणको सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन प्रतियोगिताको उपाधि जितेका छन् ।
पोखरा रंगशालामा शनिबार भएको दौडमा आर्मीकै ज्ञान प्रसाद भट्टराईलाई पछि पार्दै राजन च्याम्पियन बनेका हुन् ।
राजनले निर्धारित दुरी २ घण्टा २८ मिनेट ५६ सेकेण्डमा पुरा गरे । दोस्रो भएका ज्ञानले २ घण्टा ३३ मिनेट ४८ सेकेण्डको समय निकाले ।
तेस्रो भएका आर्मीका देव राज बस्नेतले २ घण्टा ४२ मिनेट ३३ सेकेण्डमा पुरा गरे ।
उपाधिसँगै राजनले २ लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गरे । यस्तो दोस्रो भएका ज्ञानले १ लाख प्राप्त गर्दा तेस्रो भएका देवले ७५ हजार प्राप्त गरे ।
महिला हाफ म्याराथनको उपाधि पुलिस क्लबकी राजपुरा पाछिले जितिन् । उनले १ घण्टा २७ मिनेट ०८ सेकेण्डको समय निकालिन ।
जुम्लाकी राम माया बुढाले १ घण्टा ३० मिनेट ४४ सेकेण्डको समय निकाल्दै दोस्रो स्थान हासिल गरिन् ।
तेस्रो भएकी एपीएफकी वृन्दा श्रेष्ठले १ घण्टा ३१ मिनेट १३ सेकेण्डको समय निकालिन ।
पुलिसकी रेखा विष्ट १ घण्टा ३६ मिनेट १४ सेकेण्डसहित चौंथो भईन् ।
महिला हाफ म्याराथनमा पहिलो, दोस्रो, तेस्रो र चौथो स्थान हासिल गर्ने खेलाडीले क्रमश नगद रु १ लाख, ७५ हजार, ५० र १५ हजार प्राप्त गरेका छन् ।
भूतपूर्व खेलाडी मञ्चले आयोजना गरेको दौड पोखरा रगंशालाबाट शुरु भएर छोरेपाटन, लेकसाइट, बगर हुँदै पुन पोखरा रगंशालामा पुगेर सकिने सकिएको थियो ।
कोरोना महामारीका कारण यस वर्ष विदेशी खेलाडीले भने प्रतियोगितामा सहभागिता जनाएका थिएनन् ।