धनगढी । दोस्रो सुदूरपश्चिम स्पोर्टस अवार्डको सेक्युरिटी पार्टनरमा गुरुकुल सेक्युरिटी भएको छ । नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले आयोजना गर्ने स्पोर्टस अवार्डको लागि धनगढीमा रहेको गुरुकुल सेक्युरिटीले सेक्युरिटी पार्टनरको रुपमा साथ दिएको हो ।
गुरुकुल सेक्युरिटीका सञ्चालक प्रकाश चन्द र नेपाल खेलकुद पत्रकार मञ्च कैलालीका सदस्य गगन अयडीले सम्झौता पत्रमा हस्ताक्षर गरे । चन्द नेपाल राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघ कैलालीका अध्यक्ष समेत रहेका छन् । उनले लामो समयदेखि धनगढी सेक्युरिटी सेवा प्रदान गर्दै आएका छन् । अवार्डको समयको सम्पुर्ण सुरक्षाको जिम्मा गुरुकुल सेक्युरिटीको हुने भएको छ ।
नेपाल खेलुकद पत्रकार मञ्च कैलालीले अघिल्लो बर्षदेखि सुदूरपश्चिम स्पोर्टस अवार्डको आयोजना गर्दै आएको छ । चैत ६ गते आयोजना हुने अवार्डको दोस्रो संस्करणमा २०७६ सालभर उच्च प्रदर्शन गरेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा सफल भएका खेलाडी र प्रशिक्षक गरी विभिन्न ९ विधामा अवार्ड दिईने छ ।
उत्कृष्ट खेलाडी पुरुष र महिला, उत्कृष्ट प्रशिक्षक र पिपल्स च्वाइस अवार्ड गरी ४ विधाका विजेतालाई नगद ३० हजार सहित ट्रफी मेडल र प्रमाणपत्र, वर्ष युवा खेलाडी, स्पेसल अवार्ड, लाईफ टाइम एचिभमेन्ट अवार्डका विजेताहरूलाई नगद २५ हजार सहित ट्रफी मेडल र प्रमाण पत्र दिईनेछ ।
यस्तै सुदूरपश्चिम आईकन महिला र पुरुष विधाका विजेतालाई नगद २० हजार सहित ट्रफी मेडल र प्रमाणपत्रका साथै विभिन्न विधाका विजेतालाई गिफ्ट ह्याम्पर प्रदान गरिने आयोजकले जनाएको छ । कार्यक्रम धनगढीको ओम प्यालेसमा आयोजना हुनेछ ।