धनगढी । दोस्रो सुदूरपश्चिम स्पोर्टस अवार्डलाई धनगढीमा रहेको न्यू सिटी पोलिक्लिनिकले प्रायोजन गरेको छ ।
नेपाल खेलकद पत्रकार मञ्च कैलालीले आयोजना गर्ने स्पोर्टस अवार्डमा दिईने ९ विधा मध्ये स्पेशल अवार्ड विधालाई पोलिक्लिनिकले प्रायोजन गरेको हो ।
अब यो विधाको नाम सिटी पोलिक्लिनिक स्पेशल अवार्ड रहने छ । यो विधाका विजेतालाई नगद २५ हजारसहित ट्रफी र मेडल प्रदान गरिनेछ ।
विधा प्रायोजन सम्बन्धी सम्झौता पत्रमा पोलिक्लिनिकका प्रवन्ध निर्देशक डाक्टर सुशिल भण्डारी र नेपाल खेलकुद पत्रकार मञ्च कैलालीका सल्लाहकार दीपक उपाध्यायले हस्ताक्षर गरे ।
पोलिक्लिनिकले हाडजोर्नी र स्त्री रोग सम्बन्धी विशेषज्ञ सेवा दिदै आएको छ ।
नेपाल खेलुकद पत्रकार मञ्च कैलालीले अघिल्लो वर्षदेखि सुदूरपश्चिम स्पोर्टस अवार्डको आयोजना गर्दै आएको छ । चैत ६ गते आयोजना हुने अवार्डको दोस्रो संस्करणमा २०७६ सालभर उच्च प्रदर्शन गरेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा सफल भएका खेलाडी र प्रशिक्षक गरी विभिन्न ९ विधामा अवार्ड दिईनेछ ।
गत वर्ष ६ विधामा अवार्ड दिईएको थियो । पिपल्स च्वाईस, सुदूरपश्चिम आईकन महिला र पुरुष विधा यसपालीदेखि थप गरिएका हुन् ।
अघिल्लो वर्ष जस्तै यस वर्ष पनि उत्कृष्ट खेलाडी पुरुष र महिला, उत्कृष्ट प्रशिक्षक, वर्ष युवा खेलाडी, स्पेसल अवार्ड, लाइफ टाइम एचिभमेन्ट अवार्डहरू पनि छन् । उत्कृष्ट खेलाडी पुरुष र महिला, उत्कृष्ट प्रशिक्षक र पिपल्स च्वाइस अवार्ड गरी ४ विधाका विजेतालाई नगद ३० हजार सहित ट्रफी मेडल र प्रमाणपत्र, वर्ष युवा खेलाडी, स्पेसल अवार्ड, लाईफ टाइम एचिभमेन्ट अवार्डका विजेताहरूलाई नगद २५ हजार सहित ट्रफी मेडल र प्रमाण पत्र दिईनेछ ।
यस्तै सुदूरपश्चिम आईकन महिला र पुरुष विधाका विजेतालाई नगद २० हजार सहित ट्रफी मेडल र प्रमाणपत्रका साथै विभिन्न विधाका विजेतालाई गिफ्ट ह्याम्पर प्रदान गरिने आयोजकले जनाएको छ ।