नेपालगंज । युभीसीसी कोहलपुर, बिबिसीसी किर्तिपुर र एस एक्स्पर्ट बाँकेको कोहलपुरमा जारी कोहलपुर ओपन क्रिकेट प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।
प्रतियोगिता अन्तर्गत बुधबार भएको खेलमा जित निकाल्दै युभीसीसी कोहलपुर, बिबिसीसी किर्तिपुर र एस एक्स्पर्टले क्वाटरफाइनलमा स्थान बनाएका हुन् ।
कोहलपुर प्रस्तावित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको पहिलो खेलमा युभीसीसी कोहलपुरले नेपालगंज च्याम्पलाई ३४ रनले पराजित गर्यो ।
युभीसीसीले दिएको ९२ रनको लक्ष्य पछ्याउने क्रममा नेपालगंज च्याम्प १२ ओभर ५ बलमा अलआउट हुँदै ५७ रनमा समेटियो ।
च्याम्पका लागि फर्दीन खानले १३ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् । युभीसीसीका आलोक चौधरी र सुमन गुरुङले ३/३ विकेट लिए ।
यस अघि पहिले ब्याटिङ गरेको युभीसीसीले निर्धारित १५ ओभरमा सबै विकेट गुमाएर ९१ रन बनाएको थियो । उसका लागि सुमन गुरुङले सर्वाधिक २७, कमल थापाले १८ तथा गोपाल केसीले १२ रन बनाए । च्याम्पक अनिमेष जंग शाहीले सर्वाधिक ४ विकेट ।
दोस्रो खेलमा बिबिसीसी किर्तिपुरले राझा स्पोर्ट्स क्लबलाई ८ विकेटले पराजित गर्यो ।
राझाले दिएको ६४ रनको लक्ष्य बिबिसीसीले ५ ओभर ४ बलमा मात्र २ विकेट गुमाएर पुरा गर्यो ।
बिबिसीसीको लागि सन्दिप कुँवरले ३१ रन बनाए । निरज सिंह धामीले १९ रन बनाए।
पहिले ब्याटिङ गरेको राझाले १२ ओभर १ बलमा सबै विकेट गुमाएर ६३ रन बनाएको थियो। राझाको लागि सद्दाम खानले ३६ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् । बिबिसीसी किर्तिपुरका बलर निरज सिंह धामीले ४ विकेट तथा जनक बिस्टले २ विकेट लिए ।
तेस्रो खेलमा एक्स्पर्ट्सले न्यु रोड-११ लाई १ सय २६ रनले पराजित गर्यो ।
एक्स्पर्टले दिएको १९१ रनको लक्ष्य पछ्याउने क्रममा न्यु रोड-११ ले निर्धारित १५ ओभरमा ९ विकेट गुमाएर ६४ रन मात्र बनाउन सक्यो । न्यु रोडका लागि महात्मा ओलीले सर्वाधिक १९ रन बनाए । एक्स्पर्टका बलर चित्र शर्माले ३ विकेट लिए ।
यस अघि टस जितेर पहिले ब्याटिङ गएको एक्स्पर्ट्सले १५ ओभरमा ४ विकेट गुमाएर १ सय ९० रन बनाएको थियो । उसका लागि शुबेन्दु पाण्डेले अविजित रहदै १ सय १७ रनको शतकीय इनिङ्स खेले । बिमल सुनारले १९ तथा सुनिल खड्काले १८ रन बनाए ।
न्यु रोड-११ का क्षितिज मल्लले २ तथा मदन शर्मा र किरण रावलले १/१ विकेट लिए ।
प्रतियोगिता अन्तर्गत बिहीबारबाट क्वाटरफाइनलका खेलहरु हुनेछन् ।