काठमाडौं । आयोजक कोहलपुर क्रिकेट एकेडेमी (केसीए), च्याम्पियन्स स्पोर्ट्स क्लब र बिबि वारियर्स कोहलपुरमा जारी कोहलपुर ओपन क्रिकेट प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।
कोहलपुरको प्रस्तावित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा मंगलबार आ-आफ्नो खेलमा जित निकाल्दै तीन टिमले क्वाटरफाइनलमा स्थान बनाएका हुन् ।
मंगलबार भएको पहिलो खेलमा च्याम्पियन्सले रनियारपुर स्पोर्ट्स क्लबलाई ६ विकेटले पराजित गर्यो । रनियारपुरले दिएको १ सय १० रनको लक्ष्य च्याम्पियन्सले ४ विकेट गुमाएर १४ ओभर ५ बलमा पुरा गर्यो।
च्याम्पियन्सको लागि रोहन केसीले सर्वाधिक ५५ रन तथा सोम शर्माले अविजित ४३ रन बनाए।
यस अघि पहिले ब्याटिङ गरेको रनियरपुरले निर्धारित १५ ओभरमा ७ विकेट गुमाएर १ सय ९ रन बनाएको थियो। रनियारपुरको लागि इरफान खानले सर्वाधिक २९ रन, नफुस खानले २० रन बनाएका थिए । च्याम्पियन्सका सकिल खान र गोभिन्द बिस्टले २/२ विकेट लिए।
दोस्रो खेलमा आयोजक कोहलपुर क्रिकेट एकेडेमी ( केसीए ) ले ढकेरी किंग्सलाई १ सय ३९ रनले पराजित गर्यो ।
कोहलपुरले दिएको २०० रनको लक्ष्य पछ्याउने क्रममा ढकेरीले निर्धारित १५ ओभरमा ६० रन मात्र बनाउन सक्यो । ढकेरीको लागि संजय खड्काले सर्वाधिक १६ तथा भिम बहादुर खत्रीले १५ रन बनाए । कोहलपुरका रोशन शाहले २ विकेट तथा सुजल केसी र लभकुश यादवले १/१ विकेट लिए।
यस अघि टस हारेर पहिले ब्याटिङ गरेको कोहलपुरले निर्धारित १५ ओभरमा २ विकेट गुमाएर १ सय ९९ रन बनाएको थियो।
कोहलपुरको लागि शिब डाँगीले सर्वाधिक ९६ रन बनाए जुन क्रममा ३७ बलमा ११ चौका र ६ छक्का प्रहार गरे। यस्तै विनायक गिरिले अर्धशतक बनाउने क्रममा ३४ बलमा ४ चौका र ३ छक्का मद्दतले ५१ रन बनाए । सन्दीप नेपालीले २३ तथा अजय सहानीले २१ रन बनाए।
तेस्रो खेलमा बिबि वारियर्सले रझेना टर्मिनेटरलाई ९१ रनले पराजित गर्यो ।
बिबि वारियर्सले दिएको १ सय ७९ रनको लक्ष्य पछ्याउने क्रममा रझेना टर्मिनेटरले १४ ओभर १ बलमा ८७ रन जोड्दा अलआउट भयो ।
रझेनाका सौगात रानाभाटले सर्वाधिक २६ तथा प्रदिप बुढाले २१ रन बनाए । बिबि वारियर्सक आकाश बिस्टले ४ विकेट तथा बिशाल पौडेल र अफाक शेखले समान २ विकेट लिए।
यस अघि टस जितेर पहिले ब्याटिङ गरेको बिबि वारियर्सले निर्धारित १५ ओभरमा ९ विकेट गुमाएर १ सय ७८ रन बनाएको थियो।
वारियर्सको लागि कप्तान सिद्धान्त राज शाहीले सर्वाधिक ५५ रन बनाए जुन क्रममा ३३ बलमा २ चौका र ६ छक्का प्रहार गरे । सद्दाम खानले ३२, प्रनित थापाले २२ तथा हसन खानले २१ रन बनाए। रझेनाका जानु कस्कर, सुमन थापा र घनश्याम रावतले २/२ विकेट लिए ।