काठमाडौं । धारा नेपालगन्ज म्याराथनको छैटौं संस्करण मंसिर पहिलो साता आयोजना हुने भएको छ ।
आयोजक क्रिएटिभ ह्यान्ड्स तथा क्रियटिभ गन्ज मिडिया एण्ड इभेन्ट्सले आइतबार पत्रकार सम्मेलन गर्दै छैटौं संस्करणको म्याराथन मंसिर ६ गते आयोजना हुने जनाएको छ ।
नेपाल एथ्लेटिक्स संघबाट मान्यता प्राप्त नेपालगन्ज म्याराथन आयोजनाका लागि राष्ट्रिय खेलकुद परिषद् (राखेप) बाट स्वीकृति प्राप्त भइसकेको आयोजकले जनाएको छ ।
यस्तै नेपाल ओलम्पिक कमिटी (एनओसी) ले नेपालगन्ज म्याराथनलाई ओलम्पिक छनोटका रुपमा समेत लिएको छ ।
कोराना भाईरसको महामारीको कारण ठूलो जमघट गर्न उपयुक्त नभएका कारण यसपटक विगतको भन्दा म्याराथनमा समावेश इभेन्ट भने घटाइएको छ । पुरुष खुल्लातर्फ म्याराथन, महिलाको हाफम्याराथन र ३ किलोमिटरको कर्पोरेट रन मात्रै समावेश गरिएको छ ।
गत वर्ष ५ किलोमिटर महिलातथा पुरुषको स्कुल स्तरीय तथा खुल्ला दौड, त्यसैगरी ८ देखि १२ बर्ष उमेरसमुहको पनि दौड र शारीरिक रुपले अशक्तहरुको लागिपनि दौड स्पर्धा समावेश गरिएको थियो ।
कर्पोरेर फन रनमा जनप्रतिनिधि, चिकित्सक, इन्जिनियर, प्राध्यापक, वकिल, शिक्षक, पत्रकार तथाबिभिन्न पेशा र व्यवसायीहरुले सहभागिता रहनेछ । खुल्ला म्याराथनतर्फ शीर्ष आठ जना तथा हाफ म्याराथनमा शीर्ष ६ जनालाई नगद तथा आकर्षक उपहारबाट पुरस्कृत गरिनेछ । कर्पोरेट रनका विजेतालाई पुरस्कार प्रदान गरिनेछ ।
नेपालगन्ज उपमहानगरपालिका नजिक बीपीचोकदेखि सुरु भइ कोहलपुर चौराहदेखि उत्तरतर्फ पुगी सोही रुट हुँदै पुनःबीपीचोकमा पुरा हुने म्याराथनमा राष्ट्रियस्तरका धावकहरु सहभागि हुनेछन् । म्याराथनमा लुम्बनी, कर्णाली, प्रदेश ७ का खेलाडीहरुले भाग लिदैआएका छन् ।
नेपालगन्ज म्याराथनको पहिलो संस्करणमा नेपाली सेनाका होमलाल श्रेष्ठ, दोस्रोमा सेनाकै कृष्ण बस्नेत, तेस्रोमा जुम्लाका दुर्ग बुढा, चौथो संस्करणमा नेपाल पुलिस क्लबका भुमिराज राई र सेनाका नवराज साउद विजेता भएका थिए ।
त्यस्तै महिला हाफम्याराथनमा नेपालकी नम्बर एक धाविका कान्छीमाया कोजु दुई संस्करणमा विजेता भइसकेकी छिन् । गत संस्करणमा सेनाकी पूर्णलक्ष्मी न्यौपानेले जितेकी थिइन् ।
सरकार र सशस्त्र द्वन्द्वरत तत्कालिन माओवादीका बीचमा मसिर ५ गते भएको बिस्तृत शान्ति सम्झौताको स्मरणमा हरेक वर्ष नेपालगञ्ज म्याराथन आयोजना हुने गरेको छ ।
केएल दुगड ग्रुप अन्तर्गत सौरभ आयल मिलको उत्पादन धारा नेपालगन्ज म्याराथनको मुख्य प्रायोजक रहेको छ ।