काठमाडौं । एशियन गेम्समा प्याराग्लाईडिङतर्फ रजत विजेता नेपाली टिमलाई नगरपरिक्रमा सहित सम्मान गरिने भएको छ । राष्ट्रिय खेलकुद परिषद (राखेप)ले पदक विजेता टिमका खेलाडी र अफिसियललाई नगरपरिक्रमा सहित सम्मान गर्ने कार्यक्रम बनाएको हो ।
राखेप परिसर त्रिपुरेश्वरबाट मध्यान्न १२ बजे सुरु हुने विजयी ¥याली न्युरोड, जमल, प्रर्दशनीमार्ग हुदै सभागृह पुग्ने रुट बनाईएको छ ।
सभागृहमा आयोजित एक कार्यक्रमकाबीच प्रधानमन्त्री केपी शर्मा ओलीले पदक विजेता खेलाडीलाई सम्मान गर्ने कार्यक्रम निर्धारण गरिएको छ ।
इन्डोनेशियामा सकिएको एशियन गेम्सतर्फ नेपालले एकमात्र पदक प्याराग्लाईडिङतर्फ प्राप्त गरेको थियो । नेपालले पुरुष टिम क्रस कन्ट्री स्पर्धामा पदक हात पारेको थियो । करिब दुई दशकपछि नेपालले एशियाली गेम्समा रजत पदक हात पारेको थियो ।