एजेन्सी । रोयल च्यालेन्जर्स बैंगलोरले युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा तेस्रो जित निकालेको छ ।
अबुधाबीमा शनिबार राजस्थान रोयल्सलाई ८ विकेटले पराजित गर्दै बैंगलोरले तेस्रो जित निकालेको हो ।
शेख जायद क्रिकेट स्टेडियममा राजस्थानले दिएको १ सय ५५ रनको लक्ष्य बैंगलोरले १९ ओभरमा १ बलमा मात्र २ विकेट गुमाएर पुरा गर्यो ।
बैंगलोरको जितमा कप्तान विराट कोहलीले ७२ रनको अर्धशतकीय इनिङ्स खेले ।
उनले ५३ बलमा ७ चौका र ६ छक्का प्रहार गरे । कोहलीले यस खेलसँगै आईपीएलमा आफ्नो ५ हजार ५ सय रन समेत पुरा गरे ।
यस्तै देभदुत पड्डीकलले ६२ रनको अर्धशतकीय इनिङ्स खेल्दा एबी डी भिलियर्स १२ रनमा अविजित रहे । आरोन फिन्च ८ रनमा आउट भए ।
राजस्थानका जोफ्रा आर्चर र श्रेयस गोपालले १/१ विकेट लिए ।
यस अघि टस जितेर पहिले ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ६ विकेट गुमाएर १ सय ५४ रन बनाएको थियो ।
राजस्थानका लागि महिपाल लोमररले सर्वाधिक ४७ रन बनाए । यस्तै जोस बट्लरले २२ रन जोड्दा कप्तान स्टिभ स्मिथ ५ रनमा आउट भए ।
रोबिन उथप्पा १७ रनमा आउट हुँदा रियान परागले १६ रन जोडे । राहुल टेवाटियाले अविजित २४ रन जोड्दा जोफ्रा आर्चरले अविजित १६ रन बनाए ।
बैंगलोरका युजभेन्द्र चाहलले ३ विकेट लिए । इसुरु उडानाले २ तथा नाभदिप सैनीले १ विकेट लिए ।
जितसँगै बैंगलोर तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । बैंगलोरले ४ खेलमा ६ अंक जोडेको छ ।
राजस्थानको यो दोसो हार हो । छैटौं स्थानको राजस्थानले ४ खेलमा ४ अंक जोडेको छ ।