एजेन्सी । युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा आज (शनिबार) हुने दोस्रो खेलमा दिल्ली क्यापिटल्स र कोलकत्ता नाइट राइडर्सबीच प्रतिस्पर्धा हुँदैछ ।
सारजाहमा दिल्ली र कोलकत्ता आफ्नो चौंथो खेलका लागि मैदान उत्रने छन् । नेपाली लेग स्पिनर सन्दीप लामिछाने आबद्द दिल्ली र कोलकत्ताबीचको खेल साँझ ७:४५ बजे सुरु हुनेछ ।
सारजाह क्रिकेट मैदानमा मैदान उत्रदा दिल्ली र कोलकत्ता तेस्रो जितको खोजीमा हुने छन् । दुबै टिमले समान ३ खेलमा समान २ जितका साथ समान ४ अंक बनाएका छन् । नेट रन रेटको आधारमा भने कोलकत्ता भन्दा दिल्ली अघि रहेको छ । दिल्ली तालिकाको दोस्रो स्थानमा छ भने कोलकत्ता तेस्रो स्थानमा रहेको छ ।
श्रेयस एयरको कप्तानीमा मैदान उत्रने दिल्लीले पहिलो खेलमा किङ्स इलाभेन पन्जाबलाई सुपर ओभरमा हराएको थियो । दोस्रो खेलमा दिल्लीले चेन्नई सुपर किङ्सलाई ४४ रनले हराएको थियो । तेस्रो खेलमा भने दिल्ली सनराइजर्स हैदराबादसँग १५ रनले पराजित भएको थियो ।
यस सिजन उपाधि दाबेदार मानिएको दिल्ली चौंथो खेलमा कोलकत्तालाई पराजित गर्दै पुन: शीर्ष स्थानमा उक्लन चाहन्छ । तर, कलकत्ताविरुद्ध दिल्लीलाई जित निकाल्न कठिन हुनेछ ।
पहिलो खेलमा मुम्बई इण्डियन्ससँग पराजित भएको कोलकत्ता पछिल्लो २ खेलमा कमब्याक गर्दै जित निकाल्न सफल छ । उसले दोस्रो खेलमा हैदराबाद र तेस्रो खेलमा राजस्थानलाई पराजित गरेको थियो । कोलकत्ता दिल्लीलाई पराजित गर्दै आफ्नो जितको लय कायम राख्न चाहान्छ ।
यस सिजन सन्दीपले आईपीएलमा कुनै खेलमा मौका पाएका छैनन् । दिल्लीले सन्दीपलाई पछिल्ला तिन खेलमा बेञ्चमा राखेको थियो ।
घरेलु स्पिनर अमित मिश्रा लयमा देखिएका कारण सन्दीपले मौका पाउने सम्भावना निकै कम छ ।
यस्तै चोट बोकेका रविचन्द्र आश्विन समेत खेल अघिको छनोटमा उपलब्ध हुने भएको कारण आजको खेल समेत सन्दीपले गुमाउने लगभग पक्का नै छ ।