एजेन्सी । युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा आज (शुक्रबार) साविक उपविजेता चेन्नई सुपर किङ्स र सनराइजर्स हैदराबादबीच प्रतिस्पर्धा हुँदैछ ।
दुबईमा चेन्नई र हैदराबाद आफ्नो चौंथो खेलका लागि मैदान उत्रने छन् । चेन्नई र हैदराबादबीचको खेल नेपाली समय अनुसार साँझ ७:४५ बजे सुरु हुनेछ ।
दुबई अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा दुबै टिम दोस्रो जितको खोजीमा हुनेछन् । अघिल्ला तीन खेलमा दुबैले एक जित र दुई हार व्यहोरेका थिए ।
लिगको ३ खेलमा २ अंक जोडेको चेन्नई पुछार र हैदराबाद पुछारबाट दोस्रो स्थानमा रहेको छ ।
महेन्द्र सिंह धोनीको कप्तानीमा मैदान उत्रने चेन्नई हैदराबादलाई सहजै हराउन चाहन्छ ।
तर, डेभिड वार्नरको कप्तानीमा मैदान उत्रने हैदराबादविरुद्ध जित निकाल्न चेन्नईलाई सहज भने छैन । हैदराबाद समेत साविक उपविजेताविरुद्ध जित निकाल्ने योजनामा हुनेछ ।
पहिलो खेलमा चेन्नईले मुम्बई इण्डियन्सलाई ५ विकेटले हराएको थियो । दोस्रो खेलमा चेन्नई राजस्थान रोयल्ससँग १६ रनले पराजित भएको थियो । यस्तै तेस्रो खेलमा चेन्नई दिल्ली क्यापिटल्ससँग ४४ रनले पराजित भएको थियो ।
पहिलो खेलमा हैदराबाद रोयल च्यालेन्जर्स बैंगलोरसँग १० रनले पराजित भएको थियो । दोस्रो खेलमा हैदराबाद कोलकत्ता नाइट राइडर्ससँग ७ विकेटले पराजित भएको थियो ।
तर, तेस्रो खेलमा दिल्ली क्यापिटल्सलाई १५ रनले पराजित गर्दै हैदराबादले पहिलो जित निकालेको थियो ।
दुई टिमबीचको पछिल्लो पाँच भेटमा चेन्नई बलियो देखिएको छ । गत सिजन भएको दुई भेटमा दुबै टोलीले एक एक जित निकालेका थिए ।
पहिलो खेलमा हैदराबादले ६ विकेटको जित निकालेको थियो । दोस्रो खेलमा भने चेन्नई ६ विकेटले नै विजयी भएको थियो ।
हैदराबादविरुद्ध चेन्नईले कप्तान धोनीसँगै शेन वाट्सन, फाप डु प्लेसिस, साम करण, केदार जाधब, पियुस चावला, लुंगी एनजिडी, रबिन्द्र जडेजा जस्ता खेलाडीलाई मैदान उतार्ने छन् ।
हैदराबादसँग वार्नरसँगै जोनी बेयर्स्टो, मनिस पाण्डे, केन विलियाम्सन, विजय शंकर, राशिद खान, भुवनेश्वर कुमार, सन्दीप शर्मा लगायतका खेलाडी रहने छन् ।