काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्मा छिरिङ शेर्पाको स्वकीय सचिव अनन्त प्रसाद घिमिरेलाई कोरोना भाईरसको संक्रमण भएको छ ।
अध्यक्ष शेर्पाको स्वकीय सचिव अनन्तलाई बुधबार कोरोना संक्रमण पुष्टि भएको हो ।
परिवारका सदस्यलाई कोरोना देखिएपछि परिक्षण गराउदा अनन्तलाई समेत कोरोना पोजेटिभ देखिएको हो ।
कोरोना देखिएपनि आफु पूर्ण रुपमा स्वास्थ्य रहेको र अहिले होम आईसोलेसनमा बसेको अनन्तले खेलपाटीलाई बताए ।
'अहिले मेरो अवस्था ठिक छ । संक्रमण भएसँगै होम आईसोलेसनमा बसेको छु,' उनले भने ।
६२ वर्षीय बुबा र बहिनीलाई कोरोना संक्रमण भएपछि अनन्तले पीसीआर परिक्षण गरेका थिए ।
अनन्तले आफुलाई कोरोना देखिएपनि असोज ४ गतेपछि घर बाहिर ननिस्किएको बताए ।
'घरमा ममी बिरामी हुनुहुन्थ्यो । त्यस कारण बाहिर निस्केकै छैन । ४ गतेबाट घरमै छु । अध्यक्ष ज्यूसँग भेट भएको छैन । आशा छ फैलिन पाएको छैन,' अनन्तले भने ।
एन्फा कर्मचारीमा कोरोना संक्रमण देखिएको पहिलो घटना हो । यस अघि खेलाडीमा भने देखिएको थियो । राष्ट्रिय टिमको प्रशिक्षणमा सामेल हुँदै गरेका एरिक बिष्ट, एपीएफ क्लबका फुटबल खेलाडी र ब्रिगेड ब्वाईज क्लबका विदेशी खेलाडीलाई यस अघि संक्रमण पुष्टि भएको थियो ।
बुधबार मात्रै थ्रीस्टार क्लबको एक युवा खेलाडीलाई कोरोना संक्रमण पुस्टि भएको छ ।