एजेन्सी । युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा आज (बिहीबार) साविक विजेता मुम्बई इन्डियन्स र किङ्स इलाभेन पन्जाबबीच प्रतिस्पर्धा हुँदैछ ।
अबुधाबीमा मुम्बई र पन्जाब आफ्नो चौंथो खेलका लागि मैदान उत्रन लागेका हुन् । मुम्बई र पन्जाबबीचको खेल नेपाली समय अनुसार साँझ ७:४५ बजे सुरु हुनेछ ।
शेख जायद स्टेडियममा मैदान उत्रदा दुबै टिम दोस्रो जितको खोजीमा हुनेछन् । अघिल्ला तीन खेलमा दुई टोलीले एक जित र दुई हार व्यहोरेका थिए ।
रोहित शर्माको कप्तानीमा मैदान उत्रने मुम्बई पन्जाबलाई सहजै हराउन चाहन्छ ।
तर, केएल राहुलको कप्तानीमा मैदान उत्रने पन्जाबविरुद्ध जित निकाल्न मुम्बईलाई सहज भने छैन ।
पन्जाब पनि साविक विजेताविरुद्ध जित निकाल्ने योजनामा हुनेछ ।
पहिलो खेलमा मुम्बई चेन्नई सुपर किङ्ससँग ५ विकेटले पराजित भएको थियो । दोस्रो खेलमा मुम्बईले कोलकत्ता नाइट राईडर्सलाई ४९ रनले हराएको थियो ।
तर, तेस्रो खेलमा मुम्बई रोयल च्यालेन्जर्स बैंगलोरसँग सुपर ओभरमा पराजित भएको थियो । मुम्बई ३ खेलमा २ अंक जोडेर छैटौं स्थानमा रहेको छ ।
यता, पन्जाबले पहिलो खेलमा रोयल च्यालेन्जर्स बैंगलोरलाई ९७ रनले हराएको थियो ।
तर, दोस्रो खेलमा पन्जाब दिल्ली क्यापिटल्ससँग सुपर ओभरमा पराजित भएको थियो । यस्तै तेस्रो खेलमा पन्जाबलाई राजस्थान रोयल्सले ४ विकेटले हराएको थियो ।
पन्जाब ३ खेलमा २ अंक जोडेर पाँचौं स्थानमा रहेको छ ।
दुई टिमबीचको पछिल्लो पाँच भेटमा मुम्बई बलियो देखिएको छ । गत वर्ष भएको दुई भेटमा भने दुबैले एक एक जित निकालेका थिए ।
गत वर्ष पहिलो खेलमा मुम्बईलाई पन्जाबले ८ विकेटले हराएको थियो । दोस्रो खेलमा मुम्बई ३ विकेटले विजयी भएको थियो ।
मुम्बईले पन्जाबविरुद्ध कप्तान रोहितसँगै क्विन्टन डी कक, केइरन पोलार्ड, हार्दिक पाण्डय, ट्रेन्ट बोल्ट, जस्प्रित बुम्राह लगायतका खेलाडी मैदान उतार्ने छन् ।
पन्जाबसँग राहुलसँगै मायांक अग्रवाल, निकोलस पुरण, ग्लेन म्याक्स्वेल, क्रिस जोर्डन, मोहम्मद शामी, सेल्डोन कोट्रेल जस्ता खेलाडीको साथ रहने छ ।