पोखरा । पत्रकार इन्द्र प्रसाद पौडेललाई सहारा खेलकुद पत्रकारिता पुरस्कार–२०७६ प्रदान गरिएको छ ।
सहारा क्लब पोखराले मंगलबार पौडेललाई सहारा खेलकुद पत्रकारिता पुरस्कारबाट सम्मान गरेको हो ।
क्लबको २२ औं वार्षिकोत्सवको अवसरमा पत्रकार पौडेललाई पुरस्कृत गरिएको हो । पुरस्कारको राशी २० हजार ५ सय ५५ र ताम्रपत्र रहेको छ ।
क्लबका अध्यक्ष केशवबहादर थापाको अध्यक्षतामा गत शुक्रबार बसेको बैठकले पौडेललाई पुरस्कार दिने निरणय गरेको थियो ।
सहारा क्लब पोखराले खेलकुद विटलाई प्राथमिकता दिएर समाचार सम्प्रेषण गर्ने पत्रकारलाई योगदानको आधारमा हरेक वर्ष यस पुरस्कारबाट पुरस्कृत गर्दै आएको छ ।
कास्कीको अन्नपूर्ण गाउँपालिका ३ स्थायी घर भई हाल पोखरा ८ मा बस्दै आएका पौडेल २०६२ देखि कान्तिपुर टेलिभिजनमा आवद्ध छन् । केही वर्ष उनले समाधान दैनिक र हटलाइन दैनिकमा फोटो पत्रकार तथा संवाददाताको रुपमा समेत काम गरेका थिए ।
यस अघि यस पुरस्कारबाट पत्रकार कुलचन्द्र न्यौपाने, धन बस्नेत, विनोद लामिछाने, राम गुरुङ, प्रेमनारायण न्यौपाने, दीननाथ बराल, प्रदीप पौडेल, एकराज गिरी, सागरराज तिमिल्सिना, कृष्णमणि बराल, एमबी आस्था, सुरज श्रेष्ठ, विजय नेपाल र सन्देश श्रेष्ठ पुरस्कृत भैसकेका छन् ।