काठमाडौँ । करिब साढे ३ बर्षको निलम्बनपछि नेपाल क्रिकेट संघ (क्यान) पुर्नस्थापित भएको थियो । राजनीतिक हस्तक्षप र चुनावको बैधानिकतामाथि प्रश्न उठाउँदै अन्तराष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले सन् २०१६ मा क्यान निलम्बन गरेको थियो ।
तीन बर्षको लामो गृहकार्यपछि आईसीसीको प्रत्यक्ष संलग्नतामा क्यानको नयाँ विधान तयार भयो । सोही अनुसार निर्वाचनमाफृत क्यानको नयाँ कार्यसमिति गठन भयो । आईसीसीले समेत सशर्त क्यानको निलम्बन फुकुवा गर्यो । क्यान पुर्नस्थापित भएको एक बर्ष समेत नपुग्दै क्यान पुरानै कार्यशैलीमा फर्कन थालेको जानकारहरु बताउन थालेका छन् ।
खेलाडी र पदाधिकारीको गुटबन्दी क्यानको सुरु भएको देखिन्छ । आईसीसीलाई विश्वासमा लिन नसक्दा क्यानले काम गर्न नसकेको देखिन्छ । निर्वाचन भएको झण्डै एक बर्ष बित्न लाग्दा समेत खेलाडीसंग क्यानको सम्बन्ध सामान्य अवस्थामा फर्कन सकेको छैन । स्वार्थ समूह हाबी बन्दा क्यानमा पुरानै कार्यशैली दोहरिन थालेको विश्लेषण हुन थालेको छ ।
क्यानका कोषाध्यक्ष रोशन सिंह भने संघभित्र गुटबन्दी रहेको मान्दैनन् । उनी फरक फरक पुस्ताको क्यानमा प्रतिनिधितव रहँदा विचार र शैलीमा फरक देखिएको दाबी गर्छन् ।
’क्यानमा दुई पुस्ता छौं । पुरानो र युवा पुस्ताको काम र शैलीमा केही फरक त पक्कै हुन्छ । त्यसलाई बिबाद भन्नु त भएन नि ।’ सिंह भन्छन् ।
निर्वाचनको एक बर्ष बित्न लाग्दा समेत क्यानले कार्यशैली सन्तोषजनक छैन । नेपाली क्रिकेट कस्तो बन्ने ? स्पष्ट योजना छैन । ग्रासरुटका कार्यक्रम छैनन् । उमेर समूह, महिला तथा पुरुष क्रिकेटका प्रतियोगिता घोषणा हुन सकेका छैनन् । खेलाडी प्रतियोगिताहरुले जन्माउनेछ हो । क्यानले केही अन्तराष्ट्रिय क्रिकेटको ब्यवस्थापन बाहेक अन्य कार्यक्रम सञ्चालन गर्न सकेको छैन ।
तर क्यानका कोषाध्यक्ष सिंह युवा पुस्ताले गरेको विश्वास खेर जान नदिने बताउँछन् ।
’क्रिकेट प्रेमीले जुन आशा हामीमाथि राखेका छन् । त्यसलाई मर्न दिन्नौं ।’ उनले थपे, ’अहिलेको क्यानमा धेरै युवा पस्ता भएको कारण सबैमा आशा जाग्नु स्वभाबिक हो । काम गरेर देखाउने नै बाचा हो । समर्थकले पनि क्यानमा विश्वास राख्नु पर्छ ।’
’क्रिकेट विकासको लागि आएका हौ । विकास गरेर नै देखाउने छौं । क्यानमा १७ पिल्लर छन् । सबै मिलेर नेपाल क्रिकेटलाई माथि उठाउने छौं ।’ सिंह भन्छन् ।
रोशनले अघिल्लो बर्ष भएको क्यान निर्वाचनमा सर्वाधिक मत ल्याएर कोषाध्यक्षमा विजयी भएका थिए । उनले सर्वाधिक ४५ मत प्राप्त गरेका थिए । त्यसअघि उनी सन् २००५ देखि २०१० सम्म विनयराज पाण्डेको अध्यक्षतामा रहेको क्यानको केन्द्रीय सदस्य रहेका थिए ।
सिंह नेपाली क्रिकेटमा हक्की, निडर र कार्यबोध गर्न सक्ने स्वभावले ण्परिचित छन् । सिंहको गृह जिल्ला महोत्तरी हो । तर कोरोना महामारीको समय क्रिकेटको कारण उनी पटक पटक काठमाडौँ आवजावत गरिरहेका छन् । क्रिकेटका लागि कुनै समय खराब गर्न नचाहने उनको सोच हो ।
उनी आफु पनि गल्ती नगर्ने र अरुले गल्ती गरेपनि आफुले नछोड्ने प्रवृति रहेको बताउँछन् ।
’मेरो सिधा कुरा गर्ने बानी छ । क्रिकेट विकासको लागि आएको हो । गरेर देखाउँछु । सकिन भने मार्ग प्रशस्त गर्छु ।’ सिंह भन्छन् ।
आईसीसीले सन् २०१६ मा क्यान निलम्बन गर्नुको एक मुख्य कारण आर्थिक अनियमितता समेत थियो । आर्थिक हिसाबमा पारदर्शीता कायम हुन नसक्दा आफु कोषाध्यक्षको रुपमा आएको रोशन दाबी गर्छन् ।
क्यान पुर्नस्थापना भएपछि कुनै उल्लेख्य काम गरेको देखिदैन । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गतको पहिलो सिरिज, एतिहासिक एकदिवसीय अन्तराष्ट्रिय खेल आयोजना गरेको थियो । बजेट अभावका बीच क्यानले तीन राष्ट्रको एकदिवसीय सिरिज सफलतापुर्वक आयोजना गर्नु तारिफ योग्य थियो ।
त्यसबाहेक क्यानले क्रिकेटमा खासै प्रभाव छाड्न सकेको छैन । क्यानले समेत आफुले बाहिरबाट देखिने काम गर्न नसकेको बारम्बार स्वीकार्दै आएको छ । आईसीसीबाट आंशिक रुपमा फुकुवा हुँदा काम गर्न समस्या परेको क्यानको भनाई छ । क्यानले आईसीसीबाट पूर्ण रुपमा फुकुवा हुने दिन पर्खिएर बसेको छ ।