एजेन्सी । पाकिस्तान क्रिकेट टिमका मुख्य प्रशिक्षक मिस्बाह उल हकले महेन्द्र सिंह धोनीले भारतीय क्रिकेटलाई हेर्ने दृष्टिकोण परिवर्तन गरेको बताएका छन् ।
धोनीले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास घोषणा गरेपछि एएफसीसँग कुरा गर्दै उल हकले भारतीय क्रिकेटलाई धोनीले धेरै परिवर्तन गरेको बताएका हुन् ।
भारतीय टिमका पूर्व कप्तान धोनीले शनिबार १६ वर्षे अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास घोषणा गरेका थिए ।
उल हकले धोनीले भारतीय क्रिकेटका लागि पूर्ण प्रतिबद्धताका साथ उत्कृष्ट सेवा गरेको पनि बताए ।
'धोनी भारतीय क्रिकेटमा एक ठूलो नाम हो । उनले भारतीय क्रिकेटको राम्रो सेवा गरेका छन् । मलाई लाग्छ कि उनले भारतीय क्रिकेटको दृष्टिकोण परिवर्तन गर्दै धेरै उपलब्धि हासिल गरे,' उल हकले भनेका छन् ।
सन् २००४ मा भारतको टिममा डेब्यु गरेका धोनीले कप्तानीको रुपमा भारतलाई सन् २००७ र २०११ को विश्वकप उपाधि दिलाएका थिए ।
यस्तै भारतले च्याम्पियन्स ट्रफी जित्दा धोनी टिमका महत्वपूर्ण सदस्य रहेका थिए ।
३९ वर्षीय धोनीले सन् २०१९ को विश्वकपपछि भारतबाट अन्तर्राष्ट्रिय क्रिकेट खेलेका थिएनन् ।
विकेटकिपर ब्याट्सम्यान धोनीले अन्तिम पटक इंग्ल्यान्ड विश्वकपमा न्युजिल्यान्डविरुद्धको सेमिफाइनल खेल खेलेका थिए ।
यस्तै उल हकले धोनी चतुर खेलाडी र कप्तान रहेको समेत बताए ।
'उनी 'चतुर' थिए । तपाई हेर्न सक्नु हुनेछ कप्तानको रुपमा धोनीले टोलीलाई कसरि सम्हालेका थिए । उसले अहिलेको टोलीको विकास गरेका थिए । पुराना खेलाडी हटाए र नयाँ खेलाडी ल्याए । उनले टिमको संस्कृति र भारतीय क्रिकेटकोमुहार परिवर्रतन गरे । खेलका एक अद्भुत सेवक हुन्,' उल हकले थपे ।
धोनीले भारतका लागि सबै फर्म्याटको क्रिकेटमा कुल ५ सय ३८ खेल खेलेका थिए । जसमा १७ हजार २ सय ६६ रन जोड्दा १६ शतक र १ सय ८ अर्धशतक बनाएका थिए ।
धोनीले भारतका लागि ३ सय ५० एकदिवसीय, ९० टेस्ट र ९८ टी-ट्वान्टी खेलेका छन् ।
भारतका लेजेण्ड क्रिकेट मध्येका एक धोनीले टेस्टमा ४ हजार ८ सय ७६ रन बनाएका थिए ।
यस्तै एकदिवसीयमा १० हजार ७ सय ७७ रन बनाउँदा टी-ट्वान्टीमा १६ सय १७ रन बनाएका थिए ।