एजेन्सी । भारतीय क्रिकेट टोलीका पूर्व कप्तान महेन्द्र सिंह धोनीले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास घोषणा गरेका छन् ।
धोनीले शनिबार १६ वर्षे अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास घोषणा गरेका हुन् ।
सामाजिक संजाल इन्स्टाग्राममा एक पोस्ट गर्दै धोनीले सन्यास घोषणा गरेका हुन् ।
३९ वर्षीय धोनीले सन् २०१९ को विश्वकपपछि भारतबाट अन्तर्राष्ट्रिय क्रिकेट खेलेका थिएनन् ।
विकेटकिपर ब्याट्सम्यान धोनीले अन्तिम पटक इंग्ल्यान्ड विश्वकपमा न्युजिल्यान्डविरुद्धको सेमिफाइनल खेल खेलेका थिए ।
धोनीले भारतका लागि सबै फर्म्याटको क्रिकेटमा कुल ५ सय ३८ खेल खेलेका थिए ।
जसमा १७ हजार २ सय ६६ रन जोड्दा १६ शतक र १ सय ८ अर्धशतक बनाएका थिए ।
धोनीले भारतका लागि ३ सय ५० एकदिवसीय, ९० टेस्ट र ९८ टी-ट्वान्टी खेलेका छन् ।
भारतका लेजेण्ड क्रिकेट मध्येका एक धोनीले टेस्टमा ४ हजार ८ सय ७६ रन बनाएका थिए ।
यस्तै एकदिवसीयमा १० हजार ७ सय ७७ रन बनाउँदा टी-ट्वान्टीमा १६ सय १७ रन बनाएका छन् ।
अन्तर्राष्ट्रिय क्रिकेटमा ३ सय ५९ छक्का प्रहार गरेका धोनीले विकेट किपरको रुपमा ८ सय २९ पटक आउट गरेका थिए ।
धोनीले कप्तानीको रुपमा भारतलाई सन् २००७ र २०११ को विश्वकप उपाधि दिलाएका थिए ।
यस्तै भारतले च्याम्पियन्स ट्रफी जित्दा धोनी टिमका महत्वपूर्ण सदस्य रहेका थिए ।
सन् २००४ मा भारतको टिममा डेब्यु गरेका धोनीले २०१४ बाट टेस्ट क्रिकेट खेल्न छाडेका थिए ।
अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएपनि धोनीले फ्रेन्चाईज क्रिकेट भने खेल्ने छन् ।
धोनीले इन्डियन प्रिमियर लिग (आईपीएल) चेन्नई सुपर किङ्सबाट खेल्ने गर्छन् । धोनी चेन्नईको कप्तान समेत हुन् ।