एजेन्सी । यस बर्षको इन्डियन प्रिमियर लिग (आईपीएल)को मुख्य प्रायोजक बन्न विभिन्न कम्पनीले दाबी पेश गरेका छन् ।
चीनियाँ कम्पनी भिभोले यस बर्षको आईपीएलको मुख्य प्रायोजकबाट बाहिरिने निर्णय गरेसंगै भारतीय क्रिकेट बोर्ड (बीसीसीआई)ले खुल्ला प्रतिस्पर्धाबाट प्रायोजक कम्पनी छनोटका लागि दर्खास्त माग गरेको थियो ।
भारत–चीन सिमा क्षेत्रमा देखिएको तनावका कारण भारतमा चीनीयाँ सामान बहिष्कारको अभियान चलेको छ । सुरुवातमा भिभोलाईनै मुख्य प्रायोजक राख्ने बीसीसीआईको निर्णय लगत्तै भारतमा विरोध सुरु भएको थियो ।
आईपीएलको मुख्य प्रायोजक बन्न भारतको ठुलो ब्यापारिक समूह टाटाले प्रस्ताव गरेको छ । यस्तै, शिक्षा तथा प्राविधिक क्षेत्रको स्थापित कम्पनी अनएकेडेमी र फेन्टासी स्पोर्ट्स म्याच ड्रिम ११ ले समेत यस बर्षको आईपीएलको मुख्य प्रायोजक बन्न दाबी प्रस्तुत गरेका छन् ।
बीसीसीआईले मुख्य प्रायोजकका लागि दर्खास्त दिन शुक्रबारसम्म समय निर्धारण गरेको थियो । आईपीएलको आयोजना सेप्टेम्बर १९ देखि नोभेम्बर १० सम्म संयुक्त अरब ईमिरेट्समा हुन गईरहेको छ ।
टाटा समूह समेत आएपछि मुख्य प्रायोजकको होड रोमाञ्चक बनेको छ । बीसीसीआईले नयाँ प्रायोजकबाट भिभाले प्रदान गर्ने ४ सय ४० करोड रुपैयाँ भन्दा बढी रकम प्राप्त हुने अपेक्षा गरेको छ ।
टाटा कम्पनीका एक प्रवक्ताले भनेको छन्, 'हो, टाटा समूहले आईपीएलको मुख्य प्रायोजकको रुपमा दाबी प्रस्तु गरेको छ ।'
यसबारे जानकारी राख्ने बीसीसीआईका वरिष्ठ अधिकारीले भनेका छन्, 'अनएकेडेमी र ड्रिम ११ ले समेत आईपीएलको मुख्य प्रायोजक बन्न प्रस्ताव गरेका छन् ।'
योग गुरु बाबा रामदेवको पतञ्जली र जियो कम्युनिकेशन समेत आईपीएलको मुख्य प्रायोजकको दौडमा रहेका छन् । तर बीसीसीआईबाट यसको आधिकारिक पुष्टि भएको छैन ।